आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चितवन निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा (एमाले) का सूर्य चिन्हका उम्मेदवार शंकरराज थपलिया चुनावी मैदानमा उत्रिनुभएको छ।
जनताको पीडा बुझ्ने र विकास तथा समृद्धिको भरोसा बोकेको दाबी गर्दै उम्मेदवार थपलियाले क्षेत्रका दीर्घकालीन समस्याको समाधानलाई प्राथमिकता दिनुभएको छ। उहाँले जनआन्दोलनका शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतन्त्र सुदृढीकरण र सुशासनप्रति प्रतिबद्धता जनाउनुभएको छ।
विकासमा पछि परेको चितवन–३ मा बाढी–डुबान, वन्यजन्तु प्रकोप, कमजोर तटबन्ध, आवागमन र कृषि बजारको समस्या समाधान गर्ने उहाँको एजेन्डा रहेको छ। राष्ट्रिय निकुञ्ज ऐन संशोधन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र क्षतिपूर्तिको व्यवस्था गर्ने प्रतिबद्धता पनि उहाँले गर्नुभएको छ।
धार्मिक पर्यटन प्रवर्द्धन, तटबन्ध र पुल निर्माण, अन्तरदेशीय सडक, कृषि, रोजगार, आदिवासी जनजाति संरक्षण, भूमिहीन समस्या समाधान तथा मिटरब्याज र सहकारी पीडितको पक्षमा पहल गर्ने उहाँको घोषणा छ।
उम्मेदवार थपलियाले विकास, रोजगारी र सामाजिक सुरक्षामार्फत चितवन–३ को समृद्धि सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ।

