‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण र ‘स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान’ भन्ने उद्देश्यका साथ सरल नेपालको आयोजनामा तथा लायन्स क्लब ३२५ आर, क्लस्टर ३को प्रस्तुतिमा सञ्चालन भएको राष्ट्रियस्तरीय अनलाइन सार्वजनिक वक्तृत्वकला प्रतियोगितामा निश्चल अधिकारी प्रथम भएका छन्।
देशभरिका युवाहरूको सहभागितामा सम्पन्न उक्त प्रतियोगिताले युवाहरूको विचार, अभिव्यक्ति क्षमता तथा नेतृत्वदायी सोचलाई राष्ट्रिय मञ्चमा उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजक संस्थाले जनाएको छ।
प्रतियोगितामा नीलकण्ठ नगरपालिका वडा नं. ७, धादिङकी ईशा थापा दोस्रो, हुप्सेकोट गाउँपालिका वडा नं. ४, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का रमेश भुर्तेल तेस्रो, दोर्दी गाउँपालिका वडा नं. २, लमजुङका सुनिल मरेटा चौथो तथा भरतपुर महानगरपालिका वडा नं. २५, चितवनका निकेश न्यौपाने पाँचौँ स्थान हासिल गर्न सफल भएका हुन्।
समापन तथा पुरस्कार वितरण कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा वक्ताहरूले युवाको सशक्त अभिव्यक्ति नै राष्ट्रको भविष्य निर्माणको आधार भएको धारणा व्यक्त गरेका थिए।

