आराध्यदेव भगवान् पशुपतिनाथको विशेष पर्व महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रमा सरसफाइ, व्यवस्थापन र सुरक्षा तयारी तीव्र पारिएको छ।
पर्वलाई स्वच्छ, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न निकायबीच समन्वय बढाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
यसक्रममा सामाजिक संस्था ‘क्रियसन नेपाल’ले पशुपतिनाथ मन्दिर परिसर, आर्यघाट, कैलाश डाँडा तथा साधु–सन्त बस्ने स्थानमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ।
अभियानमा स्वयंसेवक, स्थानीयवासी, सफाइकर्मी र कोषका प्रतिनिधिको सहभागिता रहेको थियो। फोहर व्यवस्थापनका लागि विभिन्न स्थानमा डस्टबिन वितरण गर्नुका साथै सफाइकर्मीलाई पहिचानयुक्त ज्याकेटसमेत प्रदान गरिएको छ।
कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीका अनुसार महाशिवरात्रि नजिकिँदै जाँदा भक्तजनको चहलपहल बढ्न थालेको छ। पर्व व्यवस्थापनका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरी व्यवस्थापन, सुरक्षा, स्वास्थ्य, सरसफाइ, यातायात, स्वयंसेवक परिचालन, आवास र प्रचार–प्रसारलगायत नौ उपसमिति सक्रिय बनाइएको छ।
महाशिवरात्रिका दिन लाखौँ श्रद्धालु पशुपतिनाथ दर्शनका लागि आउने अनुमान गरिएको छ। भीड व्यवस्थापनलाई प्राथमिकता दिँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिनेछ भने आपतकालीन सेवा तथा प्राथमिक उपचारका लागि अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।
यस वर्षको महाशिवरात्रि फागुन ३ गते परेको छ। पर्व नजिकिँदै जाँदा पशुपति क्षेत्रमा स्वदेश तथा भारतबाट आएका साधु–सन्तको आगमन उल्लेख्य रूपमा बढेको छ। कोषले पर्वलाई भव्य, मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्न सर्वसाधारणलाई सरसफाइ, सुरक्षा निर्देशिका र निर्धारित मार्गको पालना गर्न आग्रह गरेको छ।
