चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा जारी बाघ गणनाका क्रममा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गणनाका लागि जडान गरिएका ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रिएका छन्। दुवै निकुञ्ज समेटिएको कम्प्लेक्समा कुल १ हजार ७८० क्यामेरा प्रयोग गरिएको थियो।
गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणना बिहीबार सम्पन्न भएको हो। दुई राष्ट्रिय निकुञ्जलाई एउटै कम्प्लेक्स मानी तीन ब्लकमा विभाजन गरेर गणना गरिएको थियो।
९५८ वटा ग्रिड बनाएर प्रत्येक दुई वर्ग किलोमिटर क्षेत्रलाई एक ग्रिड निर्धारण गरी क्यामेरा जडान गरिएको थियो। प्रत्येक ब्लकमा १७ रातसम्म क्यामेरा राखेर तथ्यांक संकलन गरिएको जनाइएको छ।
यसअघि सन् २०२२ मा गरिएको बाघ गणनाअनुसार नेपालमा ३५५ वटा वयस्क बाघ रहेका थिए। त्यसमध्ये चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए।
क्यामेरा हराएको विषयमा थप अनुसन्धान भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ।
