भरतपुर महानगरपालिकाअन्तर्गत पर्ने नारायणगढ बजार क्षेत्रमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङका कारण देखिएको समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकायका प्रमुखहरूले आइतबार स्थलगत अनुगमन गरेका छन्।
लाइन्सचोकदेखि पुल्चोकसम्मको मुख्य बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा सर्वसाधारण, सवारी चालक तथा व्यवसायीलाई ट्राफिक नियमको कडाइका साथ पालना गर्न सचेत गराइएको थियो।
प्रमुख जिल्ला अधिकारी अर्यालले सवारीसाधन जथाभावी रोकिँदा दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रु र व्यवसायी दुवैलाई असहज हुने बताउँदै यातायात व्यवस्थापनलाई सबैको साझा दायित्वका रूपमा लिन आग्रह गरे। “यातायात व्यवस्थापनका लागि सर्वपक्षीय निर्णय भएको छ। सबै सरोकारवालाबीच भएको निर्णयअनुसार पालना गर्नुपर्छ, अन्यथा कारबाही हुन्छ,” उनले चेतावनी दिए।
अनुगमनका क्रममा सवारी अव्यवस्थित रूपमा रोकिँदा हुने समस्या औँल्याउँदै अर्यालले महानगरपालिका र डिभिजन सडक कार्यालयलाई बिग्रिएको सडक तत्काल मर्मत तथा सुधार गरी व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिएका छन्। उनले व्यवसायीलाई पसल बाहिर राखिएका सामग्री हटाउन, चालकलाई तोकिएको स्थानमा मात्र पार्किङ गर्न र यात्रुलाई जेब्राक्रसिङ वा निर्धारित स्थानबाट मात्र सडक पार गर्न आग्रह गरे। नियम उल्लङ्घन गरेमा कानुनअनुसार कारबाही गरिने उनले स्पष्ट पारे।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले बजार क्षेत्रमा बिग्रिएको सडक खण्ड तत्काल मर्मत गरिने जानकारी दिए। उक्त क्षेत्र एसियाली मापदण्डअनुसारको राजमार्गअन्तर्गत पर्ने भएकाले सोहीअनुसार व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।
त्यस्तै, जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख अनिल थापाले यातायात व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा आफूहरू सक्रिय रहेको बताए। “पहिलेदेखि नै कार्यान्वयन हुँदै आएको हो, तर अब थप व्यवस्थित र कडाइका साथ अघि बढेका छौँ,” उनले भने।
ट्राफिक कार्यालयका अनुसार आजको अनुगमनमा मुख्य रूपमा सचेतनामूलक कार्यक्रम गरिएको छ। अब दैनिक रूपमा निगरानी बढाउँदै निर्णय पूर्ण रूपमा कार्यान्वयन गरिने र अटेर गर्नेलाई कारबाही गरिने जनाइएको छ।
नारायणगढ बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सुरु गरिएको यो अभियानले दुर्घटना न्यूनीकरण, पैदलयात्रुको सुरक्षा र व्यवसायिक वातावरण सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
