नेपालको आत्मा गाउँमा बस्छ भन्ने कुरा हामीले धेरै पटक सुनेका छौं, तर वास्तविकता के हो भने गाउँ अझै पनि विकासको दौडमा पछाडि नै छ। यसको कारण केवल स्रोतको अभाव होइन, बरु गहिरो रूपमा जरा गाडेको मनोविज्ञान र राजनीतिक प्रवृत्ति हो। गाउँले समाजमा परम्पराको प्रभाव अत्यन्त बलियो छ। “पहिलेदेखि चलिआएको चलन नै ठीक छ” भन्ने सोचले नयाँ सम्भावनालाई ढोका खोल्नै दिँदैन। परिवर्तनलाई जोखिमको रूपमा हेर्ने प्रवृत्ति छ, जसले गर्दा नयाँ प्रयास सुरु हुनुअघि नै शंका र डरले त्यसलाई रोकिदिन्छ।
यही मनोविज्ञानसँगै गाउँको राजनीति पनि जोडिन्छ। स्थानीय तहमा राजनीति प्रायः विकासभन्दा बढी सम्बन्ध, प्रभाव र तत्कालीन फाइदामा आधारित देखिन्छ । नेताहरूले दीर्घकालीन योजना भन्दा तुरुन्तै देखिने काममा ध्यान दिन्छन्, जसले चुनाव जित्न सजिलो बनाउँछ । परिणामस्वरूप, गाउँमा सुरु भएका धेरै योजना अधुरा रहन्छन्, बजेट प्रभावकारी रूपमा प्रयोग हुँदैन, र जनतामा निराशा बढ्दै जान्छ।
यसरी मनोविज्ञान र राजनीति मिलेर एउटा यथास्थितिवादी चक्र बनाउँछ—जहाँ सबैलाई समस्या थाहा हुन्छ, तर परिवर्तनको लागि जोखिम लिन कोही तयार हुँदैन। जनता नेताको प्रतीक्षा गर्छन्, नेता जनताको सक्रियता खोज्छन्, र अन्ततः दुवै पक्षबीचको दूरीले विकासलाई रोकिदिन्छ। गाउँमा सडक, भवन र बिजुली पुगे पनि सोच पुरानै रहँदा त्यो विकास सतही मात्र हुन्छ।
आधुनिकिकरणको बाटो सोच, राजनीति र समाजको रूपान्तरण:
अब प्रश्न उठ्छ यो यथास्थिति तोड्ने कसरी? यसको उत्तर स्पष्ट छ: सोच परिवर्तनबाट सुरु हुने समग्र रूपान्तरण। जबसम्म गाउँले समाजले आफूलाई परिवर्तनको केन्द्रका रूपमा देख्दैन, तबसम्म बाहिरबाट आएको विकास टिकाउ हुँदैन। त्यसैले पहिलो आवश्यकता हो चेतना र आत्मविश्वासको विकास। मानिसले “म पनि गर्न सक्छु” भन्ने विश्वास राख्न थालेपछि मात्र परिवर्तनको यात्रा सुरु हुन्छ।
यसमा शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण छ। तर केवल किताबमा सीमित शिक्षा होइन, व्यवहारिक र जीवनसँग जोडिएको शिक्षा आवश्यक छ—जसले युवालाई गाउँमै अवसर देख्न सिकाउँछ। आधुनिक कृषि, साना उद्यम, डिजिटल सीप जस्ता क्षेत्रले गाउँको आर्थिक आधार बलियो बनाउन सक्छन्। यदि युवा शक्ति सक्रिय भयो भने गाउँ पलायनको केन्द्र होइन, सम्भावनाको केन्द्र बन्न सक्छ।
माडी जस्तो क्षेत्र, जुन चारैतिर जङ्गलले घेरिएको छ र आवतजावतका लागि सीमित वनकट्टा र बगही नाका मात्र रहेका छन्, त्यहाँको भौगोलिक अवस्थाले सुरक्षा र सकारात्मक नियन्त्रणमा समेत सहयोग पुर्याउँछ। यही विशेषताले यस क्षेत्रलाई अर्गानिक कृषि हब बनाउने ठूलो सम्भावना बोकेको छ। साथै, थारु संस्कृतिको मौलिकता, प्राकृतिक वातावरण, र चितवन राष्ट्रिय निकुञ्ज सँगको नजिकताले पर्यटकीय विकास, स्थानीय परिकारको प्रवर्द्धन र प्रकृतिसँग रमाउन चाहनेहरूका लागि आकर्षक गन्तव्य बन्न सक्ने आधार तयार गरेको छ।
त्यसैगरी, प्रविधिको प्रयोगले गाउँ र शहरबीचको दूरी घटाउन सक्छ। इन्टरनेट, अनलाइन सेवा र डिजिटल प्लेटफर्मले गाउँलाई विश्वसँग जोड्न सक्छ। तर प्रविधि मात्र पर्याप्त हुँदैन, त्यसलाई प्रयोग गर्ने सोच पनि आवश्यक हुन्छ।
सबैभन्दा महत्वपूर्ण पक्ष भनेको राजनीतिक संस्कारको परिवर्तन हो। राजनीति यदि सेवामुखी र पारदर्शी बन्न सकेन भने कुनै पनि विकास दिगो हुन सक्दैन। स्थानीय तहमा जनसहभागिता बढाउने, बजेट पारदर्शी बनाउने, र कामको उत्तरदायित्व सुनिश्चित गर्ने प्रणाली आवश्यक छ। जब जनता सचेत र नेता जिम्मेवार हुन्छन्, तब मात्र विकासले गति लिन्छ।
अन्ततः, गाउँको आधुनिकिकरण कुनै एक व्यक्तिको प्रयासले सम्भव हुँदैन। यो सामूहिक यात्रा हो—जहाँ जनता, युवा र नेतृत्व सबै एकै दिशामा अघि बढ्नुपर्छ।
विकास भनेको केवल संरचना होइन, सोच हो। राजनीति भनेको केवल सत्ता होइन, सेवा हो। र जब सोच, समाज र राजनीति एकसाथ बदलिन्छन्, तब मात्र साँचो आधुनिक नेपाल निर्माण सम्भव हुन्छ।
राम चन्द्र लम्साल
माडी-४, चितवन (बिचार)