देवघाट गाउँपालिकाले बालमैत्री स्थानीय शासन प्रवर्द्धन अभियानअन्तर्गत घरधुरी सर्वेक्षण कार्यमा सहयोग गर्न सम्पूर्ण गाउँबासीसँग आग्रह गरेको छ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै बालबालिकाको वस्तुस्थिति विवरण संकलनका लागि प्रत्येक वडा तथा क्षेत्रमा खटिएका गणकलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको हो।
गाउँपालिकाका अनुसार नेपाल सरकारले सन् २०२७ सम्म सबै स्थानीय तहलाई बालमैत्री बनाउने लक्ष्यसहित अभियान अघि बढाएको छ। सोही अभियानअनुसार देवघाट गाउँपालिकाले पनि आफूलाई बालमैत्री स्थानीय तह घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्दै पहिलो चरणमा तथ्यांक संकलन कार्य सुरु गरेको जनाएको छ।
सर्वेक्षणका क्रममा स्थानीयवासीले आफ्नो घरपरिवारको सही, यथार्थ र पूर्ण विवरण उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ। संकलित विवरण सुरक्षित राखिने र केवल बालमैत्री योजना निर्माण, वडा तथा पालिका घोषणा र बालबालिकाको सर्वोत्तम हितसम्बन्धी कार्यक्रम सञ्चालनका लागि मात्र प्रयोग गरिने गाउँपालिकाले स्पष्ट पारेको छ।
गाउँपालिकाले राजनीतिक दल, वडा समिति, स्थानीय अगुवा तथा सर्वसाधारणलाई सर्वेक्षण कार्यलाई प्रभावकारी, व्यवस्थित र सफल बनाउन सक्रिय सहयोग र समन्वय गर्न पनि अपिल गरेको छ।
