भरतपुर महानगरपालिकाको पशुपन्छी विकास शाखाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको अनुरोधमा बसेर उठ्न नसक्ने गाईलाई सुरक्षित रूपमा उठाउन प्रयोग गरिने उपकरण (काउ लिफ्ट) हस्तान्तरण गरेको छ ।
प्रतिगोटा रु ६४ हजार मूल्यपर्ने उक्त मेसिन ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घलाई तीन वटा, अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्थालाई दुई वटा तथा अन्य चार सहकारी संस्थालाई एक/एक वटा र एउटा फार्मलाई हस्तान्तरण गरिएको हो ।
जम्मा १० वटा मेसिन वितरण गरिएको महानगर कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाका प्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
प्रमुख भण्डारीले उन्नत जातका दुधालु गाईमा उठ्न नसक्ने समस्या देखिने भएकाले किसानलाई सहज बनाउन उक्त मेसिन वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उन्नत खालका दुधालु गाईमा ‘डाउनर काउ सिन्ड्रोम’ भन्ने एक प्रकारको रोग देखिन्छ ।
यसका कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन । गाई बसेपछि दुई–तीन दिनसम्म उठ्न नसक्दा खुट्टामा घाउ हुनेजस्ता समस्या हुन्छन् । किसानले आफैँ उठाउन पनि सक्दैनन् ।” यस समस्याको समाधानका लागि सहकारी र सङ्घमार्फत मेसिन वितरण गरिएको उहाँले बताउनुभयो । आवश्यक पर्दा सहकारीमार्फत मेसिन लैजान र प्रयोग गर्न सहज हुने उहाँको भनाइ छ ।
प्रमुख भण्डारीका अनुसार मेसिनको सहायताले एक जना किसानले मात्रै पनि गाई उठाएर स्याहार गर्न सक्नेछन् । गाई उठेपछि विस्तारै खुट्टा चल्न थाल्ने र पुनःतङ्ग्रिन सक्ने छन् ।
