चितवनको व्यावसायिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उद्यमी चन्दना कोइराला चितवन फर्निचर उद्योग तथा फर्निसिङ व्यवसायी संघको महासचिव पदमा निर्विरोध चयन हुनुभएको छ ।
संघको ११औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट केशवराज पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै कोइरालाले महासचिवको महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएको हो ।
लामो समयदेखि फर्निसिङ तथा उद्योग व्यवसाय क्षेत्रमा सक्रिय रहँदै आउनुभएकी कोइराला मेहनत, इमानदारी र नेतृत्व क्षमताका कारण चितवनका उद्योगी–व्यवसायीमाझ परिचित तथा सम्मानित व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ । उहाँको निर्विरोध चयनलाई व्यवसायिक क्षेत्रले अनुभवी, सक्षम र जिम्मेवार नेतृत्वको आगमनका रूपमा हेरेको छ ।
कोइराला केवल सफल व्यवसायी मात्र होइन, उद्योग तथा उद्यमशीलता विकासमा निरन्तर क्रियाशील महिला नेतृत्व पनि हुनुहुन्छ । उहाँ हाल नेपाल कपास उद्योग महासंघको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा रहनुभएको छ भने बागमती प्रदेश उद्योग परिसंघको महिला समितीको निवर्तमान अध्यक्षका रूपमा समेत सक्रिय भूमिका निर्वाह गरिसक्नुभएको छ । विभिन्न उद्योग, उद्यम तथा महिला सशक्तीकरणसम्बन्धी कार्यक्रममार्फत उहाँले धेरै महिलालाई आत्मनिर्भर बन्न प्रेरित गर्दै आउनुभएको छ ।
सालिन स्वभाव, सरल व्यवहार र सामाजिक उत्तरदायित्वप्रतिको गहिरो प्रतिबद्धताले उहाँलाई सबैमाझ प्रिय बनाएको छ । धार्मिक, सामाजिक तथा व्यावसायिक गतिविधिमा उत्तिकै सक्रिय कोइरालाले समाजसेवालाई आफ्नो जीवनको महत्वपूर्ण उद्देश्य मानेर काम गर्दै आउनुभएको छ । विशेषगरी महिलालाई सीपमूलक तालिम, उद्यम सञ्चालनसम्बन्धी ज्ञान तथा व्यवसायिक परामर्श प्रदान गर्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउन उहाँ निरन्तर लागिरहनुभएको छ ।
फर्निसिङ व्यवसायमा लामो अनुभव हासिल गर्नुभएकी कोइरालाले उद्योग क्षेत्रमा देखा पर्ने चुनौती, बजार व्यवस्थापन, उत्पादन प्रवर्द्धन तथा व्यवसायीका समस्या नजिकबाट बुझ्नुभएको छ । यही अनुभव र सक्रियताका कारण उहाँ महासचिवमा निर्विरोध चयन भएपछि संघले अब व्यवसायीका हकहित संरक्षण, औद्योगिक समस्या समाधान, व्यवसायिक वातावरण सुधार तथा उद्योग प्रवर्द्धनमा अझ प्रभावकारी ढंगले काम गर्ने अपेक्षा व्यवसायीहरूले गरेका छन् ।
विशेषगरी पछिल्लो समय उद्योग तथा व्यवसाय क्षेत्रमा देखिएका आर्थिक चुनौती, बजारको अस्थिरता र उद्यमीहरूले भोग्दै आएका विभिन्न समस्याको समाधानका लागि उहाँले सशक्त भूमिका खेल्ने विश्वास लिइएको छ । व्यवसायीहरूका अनुसार कोइरालाको नेतृत्वदायी क्षमता, समन्वयकारी भूमिका र सकारात्मक सोचले संघलाई थप गतिशील बनाउनेछ ।
महिलाले पनि उद्योग, व्यापार र नेतृत्व तहमा सक्षम भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण कोइरालाले आफ्नो कर्म, संघर्ष र सफलतामार्फत प्रस्तुत गर्नुभएको छ । उहाँको यो जिम्मेवारी केवल व्यक्तिगत उपलब्धि मात्र नभई समग्र महिला उद्यमशीलता र चितवनको व्यवसायिक क्षेत्रका लागि प्रेरणादायी सन्देशका रूपमा समेत हेरिएको छ ।
चितवनको उद्योग तथा व्यवसाय क्षेत्रमा क्रियाशील उद्यमीहरूले कोइरालाको निर्विरोध चयनलाई संघका लागि सकारात्मक अवसरका रूपमा लिँदै आगामी दिनमा उहाँको नेतृत्वमा संघ अझ सशक्त, व्यवस्थित र व्यवसायीमैत्री बन्ने विश्वास व्यक्त गरेका छन् ।
