चितवनको भरतपुर महानगरपालिका–१४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले दैनिक करिब तीन सय बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
सिमित जनशक्ति र संरचनाबीच पनि केन्द्रले विशेषज्ञ सेवासहितको उपचार उपलब्ध गराउँदै आएको हो । शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज तथा मेडिकल अधिकृत डा. सुनिल लामाका अनुसार स्वास्थ्य केन्द्रमा दैनिक २ सय ५० देखि ३ सय जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।
“धेरै नागरिकले स्वास्थ्य बीमा गर्नुभएको छ । यहाँ आउने अधिकांश बिरामी बीमामार्फत सेवा लिन आउनुहुन्छ,” उहाँले भन्नुभयो । यहाँ पश्चिम चितवनका धरै वडाका विरामी उपचारका लागि शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र आउने गरेको उहाँले बताउनुभयो ।
स्वास्थ्य केन्द्रमा हाल तीन जना मेडिकल अधिकृत कार्यरत छन् । केन्द्रले पुरानो मेडिकल कलेजसँग सहकार्य गरी विभिन्न विशेषज्ञ चिकित्सकमार्फत सेवा सञ्चालन गर्दै आएको छ ।
सोमबार फिजिसियन सेवा, मंगलबार हाडजोर्नी सेवा, बुधबार स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा, बिहीबार आँखा तथा बालरोग सेवा र शुक्रबार रेडियोलोजी सेवा उपलब्ध गराउँदै आएको छ । हाडजोर्नी बिशेषज्ञ समेत रहनुभएका इन्चार्ज डा.लामाले साताभर आफूले विरामी जाँच गर्दै आएको बताउनुभयो ।
लामाका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रको मूल उद्देश्य रोग रोकथाम र सामान्य उपचार भएपनि यहाँ दैनिक ठूलो सङ्ख्यामा उपचार सेवा दिनुपरेको अवस्था छ । “सीमित कर्मचारी र संरचनाका कारण काम गर्न चुनौती छ । अहिलेको संरचनाले धान्न गाह्रो भइरहेको छ । यसलाई अस्पतालका रूपमा विकास गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।
उहाँले स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रूपमा विकास गर्ने निर्णय भइसकेको जानकारी दिँदै कार्यान्वयन प्रक्रियामा जान बाँकी रहेको बताउनुभयो । घर नजिकै विशेषज्ञ सेवा पाउँदा स्थानीय नागरिक पनि सन्तुष्ट देखिएका छन् । भरतपुर २० का गोपाल प्रसाद कोइरालाले पहिले सामान्य उपचारका लागि पनि भरतपुर अस्पताल धाउनुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो । “अहिले यहीँ उपचार गराउन थालेका छौं । सहज भएको छ ।
जटिल समस्या भए यहाँबाट रिफर गरेर अन्य अस्पताल जाने गरिएको छ,” उहाँले भन्नुभयो । कोइरालाका अनुसार भरतपुर अस्पतालमा लामो लाइन र औषधि अभावको समस्या हुने गरे पनि शिवनगर स्वास्थ्य केन्द्रमा सहज रूपमा सेवा पाइने गरेको छ ।
