चितवनको माडी क्षेत्रमा प्रवेश गर्ने भरतपुर –माडी ठोरी सडक अन्तर्गत पर्ने चितवन राष्ट्रिय निकुञ्ज सडक तत्काल धुलोरहित, सुरक्षित र स्तरीय बनाउन माग गर्दै लायन क्लब अफ माडी इकोले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
क्लबले प्रमुख जिल्ला अधिकारीमार्फत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई बुझाएको ज्ञापनपत्रमा माडी क्षेत्र ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक रूपमा महत्वपूर्ण भए पनि सडक पूर्वाधारको अभावले स्थानीयवासी दशकौँदेखि सास्ती भोग्न बाध्य भएको उल्लेख गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज स्थापनापछि संरक्षणको नाममा सडक स्तरोन्नतिमा आवश्यक पहल हुन नसकेको भन्दै ज्ञापनपत्रमा धुलाम्मे तथा जोखिमपूर्ण सडकका कारण बिरामी, विद्यार्थी, किसान, व्यवसायी र सर्वसाधारण प्रत्यक्ष प्रभावित बनेको जनाइएको छ ।
सडकको कमजोर अवस्थाले कृषि, व्यापार, पर्यटन तथा समग्र आर्थिक गतिविधिमा असर परेको र सीमावर्ती माडीबाट बसाइँसराइसमेत बढ्दै गएको क्लबको भनाइ छ । ज्ञापनपत्रमार्फत सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन गरी कानुनी तथा नीतिगत अवरोध तत्काल हटाउन सरकारसँग माग गरिएको छ ।
क्लबका अध्यक्ष अर्जुन सापकोटा र सचिव प्रविन देवकोटाले माडीवासी अब आश्वासनभन्दा व्यवहारिक विकास र ठोस परिणामको अपेक्षामा रहेको बताएका छन् ।
