चितवनमा दोस्रो बागमती साहित्य महोत्सव २०८३ आयोजना हुने भएको छ ।
बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा आगामी जेठ १६ र १७ गते नारायणगढस्थित उद्योग वाणिज्य संघको सभाहलमा महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवमा बागमती प्रदेशका सबै जिल्लाका साहित्यकार, कलाकार, संस्कृतिकर्मी तथा विषयविज्ञहरूको सहभागिता रहने भरतपुर महानगर प्रज्ञा प्रतिस्ठानका अध्यक्ष प्रा.डा नारायणप्रसाद खनालले जानकारी दिनुभयो ।
महोत्सवको पहिलो दिन बिहान ७ बजे नारायणगढको लायन्स चोकबाट प्रभातफेरी निकालिनेछ । नेपाली कला, संस्कृति र साहित्य झल्किने विभिन्न जनजातीय झाँकीसहितको प्रभातफेरी शहीदचोक र पुल्चोक हुँदै उद्योग वाणिज्य संघसम्म पुग्ने कार्यक्रम रहेको उहाँको भनाई छ । त्यसपछि बिहान ९ बजे वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ को प्रमुख आतिथ्यमा महोत्सव उद्घाटन हुनेछ ।
महोत्सवअन्तर्गत ९ वटा सत्रमा परिसंवाद, नाटक मञ्चन, काव्य तथा गजल सन्ध्या आयोजना गरिनेछ । पर्यासाहित्यको आँगन, नेपाली साहित्यमा नारी लेखन, पठन संस्कृति, वर्तमान नेपाली नाटकको तस्वीर, डिजिटल युगमा कला र साहित्यको भविष्य लगायत विषयमा बहस तथा छलफल हुने आयोजकले जनाएको छ ।
महोत्सव सम्पन्न गर्न कार्यवाहक प्रमुख चित्रसेन अधिकारीको संरक्षकत्व तथा प्रा.डा. नारायणप्रसाद खनालको संयोजकत्वमा १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । कार्यक्रम व्यवस्थापनका लागि विभिन्न ११ वटा उपसमितिसमेत बनाइएको आयोजकले जनाएको छ ।
महोत्सवका लागि संस्कृति तथा पर्यटन मन्त्रालयबाट १० लाख रुपैयाँ र भरतपुर महानगरपालिकाबाट ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । करिब १७ देखि २० लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजकले जनाएको छ । गत वर्ष पहिलो संस्करण धादिङको नीलकण्ठ नगर प्रज्ञा प्रतिष्ठानको संयोजनमा सम्पन्न भएको थियो ।
