मगर समुदायको भाषा, संस्कृति, इतिहास, सभ्यता तथा संवैधानिक अधिकारबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बिनयी त्रिवेणी गाउँपालिकामा तीनदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ।
हिंसामुक्त समुदाय अभियान समिति बिनयी त्रिबेणी गाउँपालिकाको आयोजनामा, नेपाल मगर संघ बिनयी त्रिवेणी गाउँपालिकाको समन्वय तथा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा मगर समुदायका करिब ६० जना महिला तथा पुरुष सहभागी छन्।
अभियान समितिकी अध्यक्ष विष्णु हमालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गिरीले मगर समुदायको भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गाउँपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउनुभयो। बिनयी त्रिवेणी क्षेत्रमा मगर समुदायको उल्लेख्य बसोबास रहेकाले स्थानीय पाठ्यक्रममा मगर भाषालाई समावेश गर्ने पहल गरिएको उहाँले जानकारी दिनुभयो।
“भाषा र संस्कृति कुनै पनि समुदायको अस्तित्व र पहिचानका आधार हुन्। तिनको संरक्षण र पुस्तान्तरणका लागि स्थानीय तहले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ,” अध्यक्ष गिरीले भन्नुभयो।
उहाँले आफ्नो नेतृत्वमा मगर समुदायको हित, पहिचान र सांस्कृतिक संरक्षणसँग सम्बन्धित कार्यक्रमहरू नीतिगत रूपमा अघि बढाइएको उल्लेख गर्दै मगर संस्कृतिलाई जीवित राख्न गाउँपालिकाले तीन स्थानमा सांस्कृतिक पार्क निर्माण गरेको जानकारी दिनुभयो। त्रिवेणी क्षेत्रमा करिब एक बिघा क्षेत्रफलमा लखन थापा जैविक हरियाली पार्क निर्माण गरिएको उल्लेख गर्दै उहाँले विकाससँगै संस्कृति संरक्षणलाई पनि समान महत्व दिइएको बताउनुभयो।
विविधताभित्रको एकतालाई नेपालको सबल पक्षको रूपमा व्याख्या गर्दै अध्यक्ष गिरीले समाज रूपान्तरणका लागि भाषणभन्दा परिणाममुखी काम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
प्रशिक्षण कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका उपमहासचिव सिद्धान्त थापा गर्जा मगर, गंगा खासु मगर तथा यमबहादुर मर्स्याङ्दी मगरले मगर भाषा, संस्कृति, इतिहास, सभ्यता र उद्यमशीलतासम्बन्धी प्रशिक्षण दिनुभएको छ ।
प्रशिक्षक तथा नेपाल मगर संघका उपमहासचिव सिद्धान्त थापा गर्जा मगरले मगर भाषाको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय पाठ्यक्रममा समावेश गर्ने प्रक्रिया अगाडि बढिरहेको जानकारी दिनुभयो। उहाँले भाषा जोगाउन समुदाय स्वयं अग्रसर हुनुपर्नेमा जोड दिँदै युवापुस्तालाई नेतृत्वदायी भूमिकामा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभयो।
आयोजकका अनुसार प्रशिक्षण कार्यक्रमले मगर समुदायमा आफ्नो इतिहास, संस्कृति र संवैधानिक अधिकारप्रति सचेतना बढाउनुका साथै नेतृत्व विकास र सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
