देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा पर्यटन प्रवर्द्धनको साझा पहल अगाडि बढाइएको छ ।
पर्यटन प्रवर्द्धन, पर्यटन विकास, असल अभ्यास आदान-प्रदान तथा आपसी सहकार्यका लागि कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच विगतमा भएको समझदारी कार्यान्वयनका लागि तीनवटै स्थानीय तहले अग्रसरता लिएका हुन् ।
सोही अन्तर्गत भरतपुर महानगरपालिकाले सोमबार भरतपुरमा सरोकार भएका पक्षहरूबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रम गरी सुझाव सङ्कलन तथा आगामी कार्ययोजनाबारे छलफल गरेको हो ।
तीनै स्थानीय तहका प्रमुखसहित जनप्रतिनिधि, प्रशासक, निजी क्षेत्रका अगुवा, पर्यटन व्यवसायीलगायतले धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेका तीनै गन्तव्यको पर्यटन प्रवर्द्धन र विकासमा साझा प्रतिबद्धता जनाएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति, चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले पोखरालाई साहसिकता, भरतपुरलाई प्रकृति र लुम्बिनीलाई संस्कृतिसँग जोडेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । पर्यटकीय पूर्वाधार निर्माणसँगै सरसफाइ र वातावरणीय स्वच्छतालाई पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पर्यटनका माध्यमबाट तीनै सहरको अर्थतन्त्रलाई समृद्ध बनाउन ‘सिल्भर ट्रयाङ्गल’को अवधारणा ल्याउएको बताउनुभयो । उहाँले गत जेठमा तीन स्थानीय तहबीच भएको समझदारी अनुसार महानगरको नीति, योजना तथा कार्यक्रममा उक्त प्रवर्द्धनात्मक कार्यक्रमलाई समेटिएको बताउनुभयो ।
“अब व्यवसायदेखि व्यवसाय (बिटुबी) र सरकारदेखि सरकार (जिटुजी) सहकार्यलाई ठोस र मूर्त रूपमा अगाडि बढाउनुपर्छ”, प्रमुख आचार्यले भन्नुभयो, “नेपाल भित्रने पर्यटकलाई पोखरा, चितवन र लुम्बिनी एकैसाथ घुम्ने गरी कनेक्टीभिटीदेखि पर्यटकीय सेवासुविधामा विस्तारमा जोड दिनुपर्छ ।”
लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले पर्यटन विकासका लागि नीजि क्षेत्रको लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । उहाँले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो रूपमा संचालनका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।
पोखरा भ्रमण वर्ष २०२५-२०२६ का संयोजक गोपी भट्टराईले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्यमा जोड दिनुभयो । पछिल्लो समय प्राकृतिक विपद्का कारण पर्यटनमा असर पुगिरहेको बताउँदै नेपाल खुला र सुरक्षित छ भन्ने सन्देश विश्वमाझ दिनुपर्ने उहाँको भनाइ छ ।
