चितवनको इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास भट्टलाई ७१ औँ प्रहरी दिवसका अवसरमा सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता पुरस्कार प्रदान गरिएको छ ।
प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले डीएसपी भट्टलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कारसहित सम्मान गरेका हुन् ।
फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन, व्यावसायिक निष्ठा र निरन्तर समर्पण प्रदर्शनमा भट्ट सफल देखिएको भन्दै प्रहरीले उनलाई सम्मान गरेको हो ।
पूर्वी चितवनमा एक वृद्धाको हत्या तथा लुटपाट र नवलपरासीको बन्धक बनाइएको एक घटनाको उनको नेतृत्वमा सफल अनुसन्धान भएको थियो ।
उनी २०८२ फागुनमा बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी समेत घोषित बनेका थिए । गोर्खा घर भएका भट्ट २०७० सालदेखि प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए ।
