काठमाडौं, १६ कात्तिक। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूले राज्य सञ्चालनलाई बालबालिकाले खेल्ने भाँडाकुटी खेलजस्तो बनाएको टिप्पणी गर्नुभएको छ।
Advertisement
सोमबार प्रेस चौतारी नेपालले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले राज्यका जिम्मेवार पदमा रहने व्यक्तिहरू थप संयमित र उत्तरदायी हुनुपर्ने बताउनुभयो।
पोखरेलले विद्यार्थी संगठन, ट्रेड युनियन, व्यावसायिक संगठन तथा सञ्चारमाध्यममाथि राज्यको नियन्त्रण बढ्दै गएको आरोप लगाउँदै यसले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार कमजोर बनाउने खतरा रहेको उल्लेख गर्नुभयो।
उहाँले सरकारको कार्यशैली र भूराजनीतिक गतिविधिले मुलुकको लोकतान्त्रिक भविष्य तथा राष्ट्रिय स्वाधीनतामाथि समेत चुनौती थपिएको टिप्पणी गर्नुभयो।
