चितवन उद्योग वाणिज्य संघको निर्वाचन आज बिहान ८ बजेबाट बाट सुरु हुँदैछ।
निर्वाचन नजिकिँदै जाँदा अध्यक्ष पदका उम्मेदवार शिरीष पन्तको पक्षमा माहोल बन्दै गएको छ। उद्योगी–व्यवसायीबीच पन्तप्रति देखिएको भरोसा, समर्थन र सक्रिय सहभागिताले उनी जितको नजिक पुगेको विश्लेषण भइरहेको छ।
भरोसा, इमान्दारिता र कर्मको प्रतीकका रूपमा चिनिँदै आएका पन्त कर्ममा विश्वास गर्ने व्यवसायीको रूपमा स्थापित छन्। २० वर्षभन्दा बढीको व्यवसायिक अनुभव र २०७० सालदेखि चितवन उद्योग वाणिज्य संघमा सक्रिय रहँदै आएका उनले संघभित्र एक दशकभन्दा बढीको संस्थागत अनुभव संगालिसकेका छन्। यही अनुभव, निष्ठा र निरन्तरताले उनलाई आज अध्यक्ष पदका लागि सबैभन्दा बलिया र विश्वसनीय उम्मेदवारका रूपमा उभ्याएको छ।
आर्थिक मन्दी, महँगी र नीतिगत अन्योलको यस कठिन समयमा उद्योगी–व्यवसायीलाई कुरा होइन, काम गरेर देखाउने नेतृत्व आवश्यक रहेको भन्दै पन्त त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताउँछन्। पद्धति, पारदर्शिता र सुशासनसहितको उद्योग वाणिज्य संघ निर्माण गर्ने दृढ संकल्पका साथ उनी २३ बुँदे स्पष्ट प्रतिबद्धता लिएर चुनावी मैदानमा उत्रिएका हुन्।
ब्यवसायी समस्याको बारेमा बोल्ने मात्रै होइन संस्थालाई युवा मैत्री बनाउन उमेर हद म्याद हटाउने, महिला ब्यवसायी लाई नेतृत्व तहमा लैजान को लागि पदाधिकारी पद सृजना गर्ने र संघ लाई थप मजबुत बनाउन जग्गाको लालपुर्जा लिने पहल गर्ने योजना उनको प्राथमिकता रहेका छन् ।
कर थोपर्ने प्रवृत्तिभन्दा करको दायरा विस्तार गर्ने, अनावश्यक जरिमाना हटाउने, महिला नेतृत्वलाई सहज रूपमा समावेश गर्न विधान संशोधन गर्ने जस्ता एजेन्डालाई उच्च प्राथमिकतामा राखिएको पन्तले बताएका छन्। अग्रज तथा युवा व्यवसायीको समान समर्थन, आम चितवनबासीको शुभेच्छा र सबैलाई समेट्ने साझा सोच आज पन्तको मुख्य शक्ति बनेको छ।
“उद्योग केवल नाफाको संयन्त्र होइन, राष्ट्रको आत्मनिर्भर भविष्य लेखिने प्रयोगशाला हो,” भन्ने दृष्टिकोण बोकेका पन्त व्यवसायीको हकहित, सुरक्षा र संस्थागत पारदर्शिताका लागि विश्वासिलो नेतृत्वका रूपमा प्रस्तुत हुँदै आजको निर्वाचनमा जितको नजिक देखिएका छन्।

