राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशलाई राजनीतिक निकास दिन आवश्यक परे आफू एक कदम पछि हट्न पनि तयार रहेको बताउनुभएको छ ।
चितवनमा आयोजित रास्वपाको सदस्य भेटघाट तथा बृहत पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै सभापति लामिछानेले व्यक्तिगत स्वार्थभन्दा देश र जनताको हित ठूलो भएको उल्लेख गर्नुभयो ।
आफू पीडाको बन्धनमा बाँधिएको अनुभव स्मरण गर्दै उहाँले जनताले मत दिएमा प्रतिशोधको राजनीतिलाई अन्त्य गरेर देखाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले पाँच वर्षसम्म एउटै प्रधानमन्त्रीको स्थिर सरकार गठन गरी देशलाई समृद्ध र जनतालाई सुखी बनाउने आफ्नो स्पष्ट ध्येय रहेको स्पष्ट पार्नुभयो ।
पुराना केही दलका नेताहरूले अझै पनि आफूहरूलाई ‘केटाकेटी’ भन्दै खिसीट्युरी गर्ने गरेकोप्रति कटाक्ष गर्दै लामिछानेले नयाँ पुस्तालाई खिसीट्युरी नगर्न आह्वान गर्दै २७ घण्टामै देशको शासन सत्ता फेरबदल गर्न सक्ने क्षमतायुक्त जेन–जी पुस्तालाई हेप्ने प्रवृत्ति त्याग्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा विभिन्न दल परित्याग गरी रास्वपामा प्रवेश गरेका नेताकार्यकर्ताहरूलाई स्वागत गर्दै उहाँले वैकल्पिक राजनीतिक शक्तिको निर्माणमार्फत देशमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

