नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालित चौथो गैँडाकोट महोत्सवमा हालसम्म ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्।
पुस २५ गतेदेखि सञ्चालनमा आएको महोत्सवलाई लिएर दर्शकको उल्लेख्य सहभागिता देखिएको महोत्सवको प्रचार–प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए। उनका अनुसार सोमबार मात्र सात हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका थिए।
माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा जलपरी र ओपेरा हाउस मुख्य आकर्षणका रूपमा रहेका छन्। साथै महोत्सव परिसरमा कृषि प्रदर्शनी, व्यापारिक स्टल, अटोमोबाइल प्रदर्शनी, बाल उद्यान तथा विभिन्न रेष्टुरेन्टको व्यवस्था गरिएको छ।
महोत्सवमा करिब २५० स्टल रहेका छन् भने दुई लाखभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले बताए। उनका अनुसार महोत्सवबाट करिब २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।
महोत्सव प्रवेशका लागि सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ७० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा शैक्षिक संस्थाबाट संस्थागत रूपमा सहभागी विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको सुविधा दिइएको पाण्डेले जानकारी दिए।
महोत्सव परिसरको सुरक्षाका लागि आन्तरिक तथा बाह्य सुरक्षाकर्मी परिचालन गरिएको छ भने सिसीटिभी क्यामेराबाट निगरानी भइरहेको छ। यसैबीच, महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत सोमबार चर्चित कलाकारहरू हिमाल सागर, शिव हमाल, श्यामकला भण्डारी र दीपक खड्काले सशक्त प्रस्तुति दिएका छन्।
सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार कलाकारहरूको प्रस्तुतीले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो। शिव हमाल र श्यामकला भण्डारीले प्रत्यक्ष दोहोरी गीतमार्फत दर्शकलाई थप रमाइलो गराएका थिए।
स्थानीय कला र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवमा भजन प्रतियोगितासमेत जारी रहेको छ। विभिन्न १८ भजन समूह सहभागी प्रतियोगिताको विजेतालाई महोत्सव समापनका दिन पुरस्कार प्रदान गरिने लम्सालले जानकारी दिए।

