राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प नभएको बताउनुभएको छ ।
मंगलवार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त बनाउने विचार र एजेण्डा बोकेर राप्रपा अघि बढिरहेको बताउनु भयो ।
अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र भएको बताउनु भयो । संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन नगरेसम्म देशलाई संकटबाट मुक्त तुल्याउन नसकिने जिकिर गर्नुभयो ।
उहाँले सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र संघीयता होइन, केन्द्र र स्थानीय गरी दुई तहको शासन व्यवस्था रहने शासन प्रणाली कायम गरिनुपर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त तुल्याउनुपर्छ । यसबारे सो स्पष्ट विचार र एजेण्डा बोकेर राप्रपा अघि बढिरहेको थियो । अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र हो ।
जबसम्म संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन गरिँदैन । सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र संघीयता होइन, केन्द्र र स्थानीय गरी दुई तहको शासन व्यवस्था रहने शासन प्रणाली कायम हुँदैन, तबसम्म देशलाई संकटबाट मुक्त तुल्याउन सकिँदैन ।

