राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्वसांसद डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने उद्घोष गरेकी छन् ।
सामाजिक सञ्जालमा फैलिरहेका पार्टी छोड्ने भ्रमपूर्ण हल्लाप्रति प्रतिक्रिया दिँदै उनले पार्टी नछोड्ने र ललितपुर ३ बाट चुनाव लड्ने उद्घोष गरेकी हुन् ।
डा.कार्कीले फेसबुक स्ट्याटसमा लेखेकी छन्, ‘रास्वपालाई वैकल्पिक होइन, मूलधारको मध्यमार्गी नेतृत्व गर्ने बहुमतसहितको बृहत पार्टी बनाउन सुरुवातदेखि नै लागेकी छु।
मैले दुःख गरेको, राजनीति शुरु गरेको र सपना देखेको पार्टी हो, मलाई माया लाग्छ।‘कृपया अब फेरि विलखबन्दमा नपर्नुहोला,’ उनले सबैलाई आग्रह गर्दै भनेकी छन्, ‘म डा. तोसिमा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीमै रहन्छु। यसैलाई फलाउँछु, फुलाउँछु र देश निर्माण गर्ने बहुमतको पार्टी बनाउँछु।’
उनले ललितपुर क्षेत्र नम्बर ३ बाटै उम्मेदवारीका लागि पार्टीमा दावेदारी पेश गरिसकेको जानकारी गराएकी छिन् । डा.कार्की यसअघि २०७९ को निर्वाचनमा पनि ललितपुर ३ बाटै रास्वपाबाट उम्मेदवार बनेर विजयी भएकी थिइन् ।

