भरतपुर–१२ स्थित हिलबर्ड आवासीय माध्यमिक विद्यालयको आयोजनामा हिलबर्ड विद्यार्थी–शिक्षक स्मृति कोष–२०६५ अन्तर्गत “सडक दुर्घटनाको कारण र समाधान” विषयक महानगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
कोषका अध्यक्ष शंकरराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश प्याब्सनका सल्लाहकार टिकाराम चापागाईंको प्रमुख आतिथ्यता रहेको थियो ।
महानगरस्तरीय उक्त वक्तृत्वकलामा २३ वटा विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए। प्रतियोगितामा वाल्मीकि शिक्षा सदनकी छात्रा एलिया केसी प्रथम हुन सफल हुनुभयो भने नारायणी पब्लिक स्कुलकी छात्रा आर्जवी न्यौपाने दोस्रो र मोदरल्याण्ड बोर्डिङ स्कुलकी छात्रा पुनम न्यौपाने तेस्रो स्थान हासिल गर्नुभयो ।
विद्यार्थीहरूको क्षमता अभिवृद्धि गराउने र सडक दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतना फैलाउने उद्देश्यले महानगरस्तरीय वक्तृत्वकला कार्यक्रम आयोजना गरिएको कोषका अध्यक्ष शंकरराज बरालले जानकारी दिनुभयो। विद्यालयले भरतपुर महानगरभित्रका प्रत्येक विद्यालयलाई कक्षा १० सम्म अध्ययनरत एक/एक जना छात्र–छात्रा सहभागी गराउन पत्राचार गरेको उहाँले बताउनुभयो।
वि.सं. २०६५ साल मङ्सिर २६ गते पिकनिक गएर फर्किने क्रममा भएको दर्दनाक सडक दुर्घटनामा १८ जना विद्यार्थी, ४ जना शिक्षक र १ जना सहयोगीसहित २३ जनाले ज्यान गुमाएका थिए, भने २० जनाभन्दा बढी घाइते भएका थिए। उक्त घटनाको स्मरण तथा श्रद्धाञ्जली स्वरूप विद्यालयले हरेक वर्ष स्मृति कार्यक्रम आयोजना गर्दै आएको छ।
सोही दुर्घटनामा तत्कालीन समयमा कालिका एफएममा कार्यरत कुशल समाचार वाचक पत्रकार विपिन बरालको पनि निधन भएको थियो। उहाँ हिलबर्ड आवासीय माध्यमिक विद्यालयमा अध्यापनसमेत गराउँदै आउनुभएको थियो।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

