नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भएको चौथो गैँडाकोट महोत्सव २०८२ सफलतापूर्वक सम्पन्न भएको छ ।
पुस २५ गतेदेखि सुरु भएको महोत्सव १६ दिनसम्म सञ्चालन भई आज समापन गरिएको हो ।
महोत्सव अवधिभर करिब दुई लाख दर्शकले अवलोकन गरेको र २० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरिएको छ ।
महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका महासचिव तथा महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले आर्थिक मन्दीका बाबजुद पनि महोत्सव सफल भएको बताए ।
“हामीले २५ करोडको कारोबार हुने अनुमान गरेका थियौँ, तर आर्थिक मन्दीका कारण करिब २० करोडको कारोबार भएको प्रारम्भिक आँकलन गरेका छौँ,” उनले भने, “यसले गैँडाकोटसहित जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान दिएको छ ।”
जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल संयोजक छवि कँडेलले महोत्सवले नवलपुरमा उत्पादन हुने कृषि तथा औद्योगिक वस्तुको प्रवर्द्धन र बजारीकरणमा सहयोग पुगेको बताए ।
“नवलपुर कृषि र उद्योग दुवै क्षेत्रमा गण्डकी प्रदेशकै अग्रणी जिल्ला हो,” उनले भने, “महोत्सवले यहाँका कृषक र उद्यमीहरूको आत्मबल बढाएको महसुस गरेका छौँ ।”
महोत्सवका क्रममा कृषकले उत्पादन गरेका बन्दा, गाँजर, मूला, काउली, ब्रोकाउली, भेँडे खुर्सानी लगायतका कृषि उपजको निःशुल्क प्रदर्शनी तथा प्रवर्द्धन गरिएको महोत्सवका संरक्षक तथा संघका अध्यक्ष दीपक सापकोटाले जानकारी दिए । साथै, स्थानीय अदुवाको जामलाई विशेष रूपमा प्रदर्शनीमा राखेर नवलपुरको उत्पादनलाई पहिचान दिलाउने प्रयास गरिएको थियो ।
महोत्सवमा अटो, औद्योगिक, घरायसी, उपभोग्य वस्तु, रेष्टुरेन्ट लगायतका २५० वटा स्टल, बाल उद्यान तथा जलपरी शो आकर्षणको रूपमा रहेका थिए ।
उद्घाटनका दिन आयोजित शोभायात्रामा सहभागी उत्कृष्ट १७ समूहलाई समापन समारोहमा पुरस्कृत गरिएको छ । महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाका अनुसार विभिन्न धार्मिक, शैक्षिक, सामाजिक संघसंस्था, खेलकुद समूह, सामुदायिक वन तथा पालिकास्तरका गरी ३५० भन्दा बढी समूह शोभायात्रामा सहभागी भएका थिए । तीमध्ये ३ समूहलाई प्रथम, द्वितीय र तृतीय तथा १४ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको हो ।
महोत्सव अवधिभर स्थानीय कला, संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि राष्ट्रिय भजन प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
समापन समारोहमा गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले महोत्सवले गैँडाकोट मात्र नभई समग्र नवलपुर जिल्लाको धार्मिक, पर्यटन र आर्थिक गतिविधि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
“यस्ता स्थानीय महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पुर्याउँछन्,” उनले भने ।

