चितवन क्षेत्र नं. ३ बाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का प्रत्यक्ष उम्मेदवार शंकरराज थपलियाले नदी तथा वन क्षेत्र आसपास बसोबास गर्ने नागरिकका समस्या दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
माडीमा आयोजित चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै उहाँले नयाँ ऐनमार्फत नदी किनार, वन क्षेत्र तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका नागरिकलाई स्थायी बसोबासको सुनिश्चितता गर्ने योजना अघि सार्नुभयो।
एमाले उम्मेदवार थपलियाले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कटाक्ष गर्दै निकुञ्जभित्र आकाशे पुल र सुरुङमार्गको विषय अरूले होइन, एमालेले नै कार्यान्वयन गर्ने दाबी गर्नुभयो। “हामीले जिताएर पठाएका हौँ, अब काम पनि एमालेले नै गरेर देखाउँछ,” उहाँको भनाइ थियो।
हनुमानझुला क्षेत्रमा देखिएको विद्युत् समस्याबारे उल्लेख गर्दै थपलियाले निकुञ्जको नाममा माडीबासीले वर्षौंदेखि भोग्दै आएका पीडालाई आफूले नजिकबाट अनुभूत गरेको बताउनुभयो। “म आफैँ पटिहानीको बासिन्दा हुँ, त्यसैले यी समस्या कागजमा होइन, जीवनमा भोगेको हुँ,” उहाँले भन्नुभयो।
निर्वाचनमा विजयी भएपछि केरुङ–ठोरी मार्ग स्तरोन्नति गरी नियमित रूपमा सञ्चालनमा ल्याउने उहाँको अर्को प्रतिबद्धता छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मुलुकमा उल्लेखनीय विकासका काम अघि बढेको स्मरण गराउँदै उहाँले निकुञ्ज क्षेत्रमा व्यवस्थित र दिगो विद्युतिकरणका लागि भूमिगत (अण्डरग्राउन्ड) प्रणाली निर्माण गरिने उद्घोष पनि गर्नुभयो।
