चितवन र तनहुँको संगमस्थल, नेपालकै प्रमुख पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष पनि भव्य धार्मिक कार्यक्रम आयोजना हुने भएको छ।
देवघाट टाउन चोकस्थित श्री दुर्गा पाञ्चायन (श्रीराम) मन्दिरको आयोजनामा माघ १९ गतेदेखि २९ गतेसम्म शतचण्डी महायज्ञ तथा देवघाट माघ महोत्सव सञ्चालन हुने भएको हो।
आयोजकका अनुसार महायज्ञमा सहभागी हुने भक्तजन, साधुसन्त तथा आगन्तुकका लागि निशुल्क आवास र भोजनको व्यवस्था मिलाइएको छ। धार्मिक आस्था र सनातन संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले देवघाट क्षेत्रलाई थप धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा चिनाउने विश्वास लिइएको छ।
महायज्ञको मुख्य उद्देश्य मन्दिरको पुनर्निर्माण, देवघाटमा लामो समयदेखि निरन्तर जल्दै आएको अखण्ड धुनी र दीपको संरक्षण तथा निरन्तरता कायम गर्नु रहेको आचार्य श्री शीतल कृष्णजी महाराजले जानकारी दिनुभयो। उहाँका अनुसार देवघाटको धार्मिक गरिमा र ऐतिहासिक महत्वलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न यस्ता महायज्ञहरू अत्यन्त आवश्यक छन्।
“देवघाट केवल तीर्थ मात्र होइन, यो सनातन धर्म, साधना र साधुसन्तको तपोभूमि हो। यहाँको मन्दिर, धुनी र दीपको संरक्षण हाम्रो सामूहिक दायित्व हो,”
— आचार्य श्री शीतल कृष्णजी महाराज
महायज्ञ अवधिभर चण्डी पाठ, हवन, पूजाआजा, प्रवचन, भजन–कीर्तन तथा धार्मिक सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुने आयोजकले जनाएको छ।
साथै माघ महोत्सवअन्तर्गत धार्मिक चर्चा, साधुसन्तको सत्सङ्ग तथा भक्तजनबीच आपसी सद्भाव र आध्यात्मिक चेतनाको विस्तार गरिनेछ।
आयोजक पक्षले यस महायज्ञलाई सफल बनाउन सहयोगी दाताहरू, धर्मप्रेमी तथा श्रद्धालु भक्तजनहरूको स्वतःस्फूर्त सहभागिताको अपेक्षा गरेको छ। देश–विदेशबाट देवघाट आउने तीर्थालुहरूलाई सहज रूपमा सहभागिता जनाउन सक्ने वातावरण बनाइएको समेत जानकारी दिइएको छ।
हरेक वर्ष माघ महिनामा देवघाटमा श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्दछ। यसपटक आयोजना हुने शतचण्डी महायज्ञ तथा माघ महोत्सवले देवघाटको धार्मिक महत्वलाई अझ सशक्त बनाउने र स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।
