आसन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत नेकपा (एमाले)बाट चितवन क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार शंकर राज थपलिया तथा समानुपातिक उम्मेदवार यमबहादुर परियार (इन्द्रजीत) ले घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ।
उहाँहरूले भरतपुर महानगरपालिका–२७, २८, २५ र २६ का विभिन्न वडामा घरदैलो कार्यक्रम सञ्चालन गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको हो।
अभियानका क्रममा उम्मेदवार थपलियाले आफू यस क्षेत्रका समस्यासँग नजिकबाट परिचित रहेको उल्लेख गर्दै समाधानमुखी नेतृत्व दिन प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणलाई प्राथमिकतामा राख्दै क्षेत्रको समग्र विकास निर्माणमा विशेष जोड दिने उद्घोष गर्नुभयो। साथै, स्थानीय आवश्यकता र जनचाहनाअनुसार नयाँ नीति निर्माण तथा प्रभावकारी कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
घरदैलो कार्यक्रममा स्थानीयवासीहरूले विकास, रोजगारी र सुरक्षाका विषयमा चासो व्यक्त गरेका थिए भने उम्मेदवारहरूले ती विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने विश्वास दिलाएका थिए।

