प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘सिमसार र परम्परागत ज्ञान सांस्कृतिक सम्पदाको सम्मान’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
यस वर्षको नाराले सिमसार क्षेत्रसँगै मानवको पराम्परागत ज्ञान र सांस्कृतिक सम्पदा संरक्षणमा जोड दिएको छ । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ ।
ताल, तलैया, पोखरी, नदी, खोला, झरना, धानखेत आदि सिमसार क्षेत्रअन्तर्गत पर्छन् । जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नुका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्दछ ।
सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइने गरेको छ । नेपालमा पछिल्लोपटक मानवीय गतिविधिको अतिक्रमण र जलवायु परिवर्तनका असरले मौसममा देखिएको परिवर्तनसँगै सिमसार क्षेत्र सीमित हुँदै गएको देखिन्छ । तिनको क्षेत्रफल र गुणस्तर घट्दै गइरहेको छ । केही स्थानका सिमसार लोपसमेत भइसकेका छन् ।
पछिल्लो समय अव्यवस्थित रूपमा गरिने विकास निर्माणका पूर्वाधार, सिमसार क्षेत्र नजिक बढ्दो जनसङ्ख्या, बढ्दो प्रदुषण, मानव बस्ती र उद्योगको फोहरमैला सोझै नदी र सिमसार क्षेत्रमा विसर्जन गर्ने प्रवृतिलगायत चुनौती थपिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिनुभयो ।

