नारायणी नदीमा जल पर्यटनको प्रवर्द्धन र यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ ।
आइतबार साँझ क्रुजको विधिवत्रुपमा उद्घाटन भएपछि ‘राइनो क्रुज’ले नियमित सेवा सञ्चालन गरेको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याइएको हो ।
क्रुजको औपचारिक उद्घाटनका क्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले राइनो क्रुज गैँडाकोटको नमूना गहना भएको उल्लेख गर्दै यसको सञ्चालनमा आवश्यक पर्ने सहयोग पालिकाले गर्ने बताउनुभयो ।
क्रुजले यहाँको पर्यटन प्रवद्र्धनमा निकै टेवा दिने भन्दै नगरप्रमुख अधिकारीले क्रुजलाई देवघाटधामसम्म मात्रै नभइ देवघाटधाम र त्रिवेणीधामसम्म जोड्नुपर्नेमा जोड दिनुभयो ।
क्रुज सञ्चालनका लागि नारायणीको धेरै ठाउँमा बाधाअड्चन भएको भन्दै उहाँले बाधा अड्चन हटाएर नदीलाई गहिरो बनाउन आवश्यक पर्ने सहयोग पालिकाले गर्ने बताउनुभयो ।
क्रुजको उद्घाटनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य एवम् होटल रिभर क्राउनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले जल क्रियाकलापसँगै होटल सञ्जाल गर्न राइनो क्रुज र होटलबीच सहकार्य भएको बताउनुभयो । क्रुज सञ्चालनमा आएसँगै गैँडाकोट र नवलपुरको मात्रै नभइ यस क्षेत्रका समग्र आर्थिक विकासलाई सञ्चालन र वृद्धि गर्न टेवा पुग्ने उहाँको भनाइ छ ।
क्रुजलाई स्थायीरुपमा सञ्चालन गर्दै यहाँको धार्मिक र पर्यटकीय क्षेत्रहरुलाई जोड्नका लागि पनि आफूहरुले भूमिका खेल्ने डा भट्टराईको भनाइ छ ।
क्रुज सञ्चालनकै क्रममा होटल व्यवसायी प्रभाकर पण्डितले क्रुज सञ्चालनमा आएसँगै नवलपुर तथा चितवनसहित देशकै पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिएको बताउनुभयो । नेपालकै पहिलो क्रुज नारायणी नदीमा सञ्चालनमा आएकोले यसले पर्यटकीय गतिविधिको वृद्धिमा सफलता हासिल गर्ने पण्डितको भनाइ छ ।
क्रुजको सञ्चालनले यहाँको आर्थिक क्रियाकलापलाई चलायमान एवम् आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उहाँले बताउनुभयो । क्रुज सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालि एवम् होटल रिभर क्राउन प्रालिका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलले क्रुजले देवघाटदेखि दक्षिणतर्फ नारायणी नदीमा ४० किलोमिटर यात्राको अनुमति पाएको बताउनुभयो ।
साढे दुई तले क्रुजको लम्बाइ ९५ फिट एवम् चौडाई २१ फिट रहेको भन्दै ढुङ्गेलले क्रुजको पूरा क्षमता दुई सय जना भए पनि १५० जनालाई सेवासुविधा उपलब्ध गराउनेगरी सञ्चालनमा ल्याइएको बताउनुभयो । क्रुजको यात्रा पूर्णरुपमा सुरक्षित रहेको भन्दै उहाँले क्रुज यातायातको लागि नभइ रमाइलो जलयात्राका लागि सञ्चालनमा ल्याइएको बताउनुभयो ।
