नेपथ्य व्याण्ड भन्ने वित्तिकै कसैलाई चिनाउनै पर्दैन । युवादेखि हरेक उमेर समूहले नेपथ्यको प्रस्तुती हेर्न लालायित हुन्छन् ।
यही नेपथ्य चितवनमा तीन वर्षपछि गुञ्जिदै छ । नेपथ्यको प्रस्तुती हेर्न जाने दर्शकले यसपटक भने फरकपनको अनुभूति गर्न पाउने छन् । ठूलो रंगशाला नभएको चितवनमा दर्शकहरुले यो पटक नेपथ्यको कन्सर्ट भने प्याराफिटमा बसेर हेर्न पाउने छन् । आयोजक नेपाल डायरिजले चितवनका दर्शकका लागि पहिलोपटक प्याराफिटको व्यवस्था गर्न लागेको हो ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल डायरिजका निर्देशक बिनेश थापाले चितवनका दर्शकलाई फरकपनको स्वाद दिलाउन अस्थायी ‘प्याराफिट’ निर्माण गर्न लागिएको जानकारी दिए ।
‘चितवनमा वर्षेनी धेरै सांगीतिक कन्सर्टहरु हुने गरेका छन्, जहिल्यै दर्शकहरु चौरमा उभिएर हेर्नपर्छ’ निर्देशक थापाले भने ‘यसपटक दर्शकका लागि नाच्न मिल्ने गरी प्याराफिट बनाउँदै छौं, यसले दर्शकलाई थप आकर्षित गर्नेमा विश्वस्त छौं ।’
नेपथ्यको कन्सर्ट यसपटक नारायणगढस्थित क्याम्पाचौरमा यही माघ २७ गते मंगलबार हुँदैछ । साँझ ६ बजेदेखि सुरु हुने कन्सर्टका लागि ४ सय जना दर्शकका लागि प्याराफिट निर्माण गरिदैछ । प्याराफिटको क्षमता एक हजार दर्शकका लागि भए पनि नाच्न सहज हुने गरि ४ सय दर्शकका लागि मात्रै खुला गरिएको छ ।
प्याराफिटबाट नेपथ्यको प्रस्तुती हेर्न ३ हजार रुपैयाँ शुल्कको टिकट खरिद गर्नुपर्ने हुन्छ । दर्शकका लागि तीन प्रकारको टिकट व्यवस्था गरिएको छ । विद्यार्थी लक्षित एक हजार जनाको लागि एक हजार रुपैयाँको टिकट रहेको छ । जुन टिकटको बिक्री सम्पन्न भइसकेको छ । २ सय जनाका लागि तयार पारिएको भीआइपी टिकटको मूल्य ३ हजार रुपैयाँ तोकिएको छ ।
यो टिकट विक्री पनि सकिन लागिएको निर्देशक थापाले बताए । साधारण टिकटको मूल्य भने एक हजार ५ सय रुपैयाँ तोकिएको छ ।कन्सर्ट स्थलमा बफर जोन र इभेन्ट जोन गरी दुई वटा क्षेत्र निर्माण गरिएको छ ।
बफर जोनमा विभिन्न स्टलहरु रहने छन् भने इभेन्ट जोनमा खाद्य पदार्थ पूर्ण रुपमा निषेध गरिएको छ । कन्सर्टमा चितवनसहित छिमेकी जिल्लाहरु नवलपरासी बर्दाघाट सुस्ता पूर्व र पश्चिम, तनहुँ, मकवानपुरलगायतका जिल्लाबाट ८ हजार दर्शक सहभागि हुने आयोजकले जनाएको छ ।
सन् १८८० ताका स्थापित नेपथ्य नेपालकै सबै भन्दा लोकप्रिय व्याण्डको रुपमा परिचित छ । यो कार्यक्रमलाई सफल बनाउन विभिन्न ठाउँमा सांगीतिक क्याम्पेन समेत आयोजना गरिएको थियो ।
