अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ को दोस्रो दिन मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को आयोजना तथा चितवन उद्योग संघको सहकार्यमा सम्पन्न प्रतियोगितामा स्मल हेभन मोडेल स्कूल, भरतपुरकी छात्रा सनिसा गौतम प्रथम भएकी छन् ।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास महाशाखाका सह–सचिव डा. शरण पाण्डे प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रम संयोजक तथा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का सचिव कल्याण अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा वक्तृत्वकला प्रतियोगिताका नियम निर्णायक मण्डलका संयोजक, प्रेसिडेन्सी कलेज भरतपुरका प्राध्यापक तथा नेपाली विभाग प्रमुख अमृत ढकालले प्रस्तुत गर्नुभएको थियो ।
२४ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा कडा प्रतिस्पर्धाबीच निर्णायक मण्डलले नतिजा सार्वजनिक गरेको हो ।प्रतियोगितामा नारायणी ई. पब्लिक सेकेण्डरी स्कूल, भरतपुरका छात्र समीप खत्री द्वितीय, नारायणी नमूना माध्यमिक विद्यालय, भरतपुरकी छात्रा विपस्वी कुँबर तृतीय तथा लाइसियम इन्टरनेशनल मोडेल स्कूल, रत्ननगरकी छात्रा रहिसा अधिकारी सान्त्वना स्थान हासिल गर्न सफल भए ।
निर्णायक मण्डलमा हेफर नेपालका निर्देशक डा. लेखनाथ अधिकारी र न्यू क्यापिटल कलेज, रत्ननगरका प्राध्यापक विष्णुप्रसाद पौडेल सदस्य रहनुभएको थियो ।
प्रदर्शनीको तेस्रो दिन पशुपालन र दुग्ध क्षेत्रसँग सम्बन्धित विविध विषयमा कार्यपत्र प्रस्तुतिसहित प्यानल छलफल आयोजना हुने आयोजकले जनाएको छ । कार्यक्रममा पशुपालनमा देखिने रोग र उपचार, दुग्धजन्य पदार्थको बजारीकरण, प्रविधिमा आधारित गुणस्तरीय दुध उत्पादन, तथा नेपालमा दुग्ध क्षेत्रको वर्तमान अवस्था र भावी गन्तव्यबारे विज्ञहरूले प्रस्तुति दिनेछन् ।
प्यानल छलफलमा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादव, दुग्ध विकास संस्थानका अध्यक्ष डा. रामनन्दन तिवारी, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, केन्द्रीय दुग्ध सहकारी संघ लि.का अध्यक्ष अमरबहादुर कुँबर लगायतको सहभागिता रहनेछ ।
त्यसैगरी प्रदर्शनीको चौथो दिन दुग्ध क्षेत्रसम्बन्धी हाजिरी जवाफ प्रतियोगिता, उन्नत जातको गाई प्रदर्शन तथा सातै प्रदेशबाट सिफारिस गरिएका उत्कृष्ट दुग्ध उत्पादक सहकारीलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
चितवन उद्योग संघका कार्यक्रम अधिकृत कल्पना आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रमको समापन चितवन उद्योग संघका उपाध्यक्ष गोपालप्रसाद गैरेले धन्यवाद मन्तव्यसहित गर्नुभएको थियो ।
