एमएडब्ल्यू राइड्सअन्तर्गत नेपालभर सशक्त डिलर तथा सर्भिस नेटवर्क विस्तार गरेको विश्वप्रसिद्ध दुईपांग्रे ब्रान्ड यामाहाले ‘यामाहा ब्लू स्ट्रीक्स भेरी च्याप्टर राइड’ सफलतापूर्वक सम्पन्न गरेको छ।
सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिको प्रवर्द्धन तथा राइडर समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
राइड भरतपुरस्थित कर्माचार्य इन्टरप्राइज प्रा.लि.बाट सुरु भई करिब ७२ किलोमिटर दूरी पार गर्दै मायाटारको लालिगुरास जंगल रिसोर्टमा समापन भएको थियो। कार्यक्रममा १७ जना यामाहा राइडरहरूको उत्साहजनक सहभागिता रहेको थियो।
राइडका क्रममा विभिन्न आकर्षक गतिविधि सञ्चालन गरिएका थिए। स्लो रेस प्रतियोगितामा सरिन नाहारकी विजयी भइन्। साथै, सुरक्षित र जिम्मेवार राइडिङप्रतिको प्रतिबद्धता, नेतृत्व क्षमता र अनुभवका आधारमा प्रशिल डल्लाकोटी र रिगोस बराललाई ‘मार्शल’ चयन गरिएको आयोजकले जनाएको छ।
यामाहा ब्लू स्ट्रीक्स यामाहा नेपालको आधिकारिक राइडिङ समुदाय हो, जसले अनुशासित, सुरक्षित र अर्थपूर्ण राइडिङ संस्कृतिलाई प्रवर्द्धन गर्दै आएको छ। यामाहा नेपालले आगामी दिनमा पनि यस्ता समुदाय–केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
