प्रगतिशील लोकतान्त्रिक पार्टीले चितवन क्षेत्र नं. ३ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको हो।
चितवन क्षेत्र नं. ३ का प्रत्यक्षतर्फका उम्मेदवार बुद्ध पाख्रीनले विभिन्न टोल–टोलमा पुगेर स्थानीय मतदातासँग भेटघाट गर्दै आफूलाई मत दिई विजयी गराउन आग्रह गर्नुभएको छ। घरदैलो अभियानका क्रममा उहाँले जनताका समस्या, सुझाव र अपेक्षा नजिकबाट सुन्दै विश्वासको मत माग्नुभएको हो।
उम्मेदवार पाख्रीनले देशमा सुशासन, स्थायित्व र दिगो विकास स्थापना गर्न आफ्नो पार्टीको जित अपरिहार्य रहेको धारणा राख्नुभयो। “बढ्दो भ्रष्टाचार नियन्त्रण, पारदर्शी शासन र जनउत्तरदायी नेतृत्व हाम्रो प्रमुख प्रतिबद्धता हो,” उहाँले उल्लेख गर्नुभयो। साथै, विकासका अधुरा कामलाई पूर्णता दिने र नयाँ सम्भावनाको ढोका खोल्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।
पार्टीका नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागितामा चितवन–३ अन्तर्गत विभिन्न वडाहरूमा उत्साहजनक रूपमा घरदैलो कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ। स्थानीय स्तरमा जनसमर्थन बढ्दै गएको दाबी गर्दै पार्टीले आगामी दिनमा अभियानलाई अझ सशक्त बनाउने जनाएको छ।
घरदैलो कार्यक्रमसँगै चितवन–३ मा चुनावी सरगर्मी बढ्दै गएको छ।
