आसन्न प्रतिनिधिसभा निर्वाचनको संघारमा राजनीतिक दलहरूले निजी क्षेत्रमैत्री नीतिको प्रतिबद्धता जनाए पनि लगानीकर्ताको आत्मविश्वास पुनर्स्थापना गर्नु सरकारका लागि ठूलो चुनौती बनेको छ।
अनलाइन पोर्टल क्लिकमाण्डु डट कमले सार्वजनिक गरेको ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण, २०८२’ अध्ययनअनुसार ९८ प्रतिशत व्यवसायीको मनोबल घटेको छ भने ९७ प्रतिशतले लगानीको वातावरण कमजोर भएको बताएका छन्। ७० प्रतिशत व्यवसायी ‘पर्ख र हेर’को अवस्थामा छन्।
जेनजी आन्दोलनका क्रममा उद्योग, बैंक र व्यापारिक प्रतिष्ठानमा भएको तोडफोड तथा आगजनीबाट करिब ३४ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको उल्लेख छ। अप्रत्यक्ष आर्थिक क्षति झन्डै ८१ अर्ब रुपैयाँ आँकिएको छ, जसले कुल गार्हस्थ्य उत्पादनमा करिब पाँच प्रतिशतसम्म प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भौतिक क्षतिभन्दा गम्भीर मनोवैज्ञानिक चोट लागेको बताउँदै लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति र विधिको शासन सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए। पूर्वअध्यक्ष शेखर गोल्छाले व्यवसायीलाई ‘नाफाखोर’को रूपमा मात्र हेर्ने प्रवृत्तिले वातावरण झन बिगारेको टिप्पणी गरे।
अध्ययनले राज्य, निजी क्षेत्र र समाजबीच विश्वासको पुल निर्माण नगरेसम्म लगानीको वातावरण पुरानै लयमा फर्कन कठिन हुने निष्कर्ष निकालेको छ। निजी क्षेत्रलाई अर्थतन्त्रको इञ्जिन मानिने भएकाले सुरक्षा, स्थायित्व र सम्मानको वातावरण निर्माण गर्नु अबको सरकारको प्राथमिक जिम्मेवारी बनेको छ।
