कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा व्यावसायिक रूपमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ (ASF) संक्रमण पुष्टि भएको छ। पछिल्ला दिनहरूमा बङ्गुरमा उच्च ज्वरो आउने, शरीरमा रातो तथा नीलो धब्बा देखिने र अप्रत्याशित रूपमा मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरी प्रभावित क्षेत्रबाट नमूना संकलन गरेको थियो। प्रारम्भिक रूपमा ‘रेपिड एन्टिजेन’ विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि थप पुष्टि परीक्षणका लागि नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको थियो। त्यहाँ ‘पिसिआर’ विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले जानकारी दिनुभयो।
उहाँका अनुसार हालसम्म कैलालीको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा किसानले पालेका बङ्गुरमा संक्रमण देखिएको छ।
“संक्रमण प्रारम्भिक चरणमै छ। समयमै जैविक सुरक्षा उपाय लागू नगरिए ठूलो आर्थिक क्षति हुन सक्छ,” जोशीले भन्नुभयो, “संक्रमण फैलिन नदिन सम्बन्धित फार्मधनीलाई सचेत गराइएको छ र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।”
पशु अधिकृत रामप्रसाद भट्टका अनुसार संक्रमित बङ्गुरमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म उच्च ज्वरो आउने, दानापानी छोड्ने, झोक्राउने, एकै ठाउँमा थुप्रिएर बस्ने तथा छट्पटाउने जस्ता लक्षण देखिन्छन्। विशेषगरी कानको टुप्पो, पुच्छर र पेटको तल्लो भागमा रातो वा नीलो धब्बा देखिनु यस रोगको प्रमुख संकेत हो। यसबाहेक नाकबाट फिँज निस्कने, बान्ता गर्ने, छेर्ने र हिँड्दा चाल धरमराउने लक्षणसमेत देखिने उनले बताए।
अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बङ्गुर तथा जंगली बँदेलमा भाइरसका कारण लाग्ने अत्यन्त संक्रामक र घातक रोग हो। मृत्युदर शतप्रतिशतसम्म पुग्न सक्ने भएकाले यसलाई पशु स्वास्थ्यका दृष्टिले अत्यन्त भयावह मानिन्छ। यद्यपि यो रोग पशुबाट मानिसमा सर्ने ‘जुनेटिक’ रोग भने होइन।
“संक्रमण फैलिए पूरै बथान नै सखाप हुन सक्छ। किसानको वर्षौंको लगानी एकैपटक जोखिममा पर्न सक्छ,” जोशीले भन्नुभयो।
सम्बन्धित निकायले कुनै पनि स्थानमा बङ्गुरमा अस्वाभाविक लक्षण देखिएमा वा धमाधम मर्न थालेमा लुकाएर नराखी तुरुन्त नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल, पशु क्वारेन्टाइन चेकपोस्ट वा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सम्पर्क गर्न आग्रह गरेको छ।
