खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली लगाएका किसान उत्पादन बढ्ने आशामा उत्साहित भएका छन् ।
उपयुक्त समयमा पानी परेपछि यहाँको तराई र पहाडी क्षेत्रमा मकैबाली फस्टाएको छ । रौतामाई गाउँपालिका–२ भुटारका किसान देवराज दाहाल भन्नुहुन्छ, “यसपटक मकै छर्ने बेलादेखि वर्षा भइरहेका कारण मकै छर्न र गोड्नसमेत सहज भएको छ, मकैबाली उत्पादन बढ्ने आशा छ ।”
त्यसैगरी चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरका किसान चन्द्रकान्त चौधरीले निरन्तर वर्षा भइरहेकाले मकै उत्पादन बढ्ने बताउनुभयो । त्रियुगा नगरपालिका–१६ सुकौराका किसान तेजबहादुर बलम्पाकी मगर भन्नुहुन्छ, “यसपटक डाँडापाखाका बारीमा समेत छरेको मकै निरन्तर वर्षाका कारण राम्ररी फस्टाइरहेको छ, निरन्तर वर्षाले मकैखेतीलाई ठूलो राहत प्रदान गरेको छ ।”
जिल्लाको पहाडी क्षेत्रका सुक्खा, बारी डाँडापाखामा छरेको मकैको बिरुवालाई वर्षाले राहत प्रदान गरेको छ । जिल्ला कृषि ज्ञान केन्द्र प्रमुख योगेन्द्र यादवले मकैखेती गर्ने सिजनबाट वर्षा सुरु भएकाले पडाडी क्षेत्रका बारीमा लगाएको मकैखेती राम्रो हुने बताउनुभयो ।
यादवका अनुसार उदयपुरमा ११ हजार हेक्टर क्षेत्रफलमा बर्सेनि मकैखेती हुँदै आएको छ । यसपटक यस्तै मौसम रहेमा मकै उत्पादनमा २० प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ ।
