माडी नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरबासीले विकास निर्माणको ढिलासुस्ती, मानव–वन्यजन्तु द्वन्द्व, फोहोर व्यवस्थापन र सुकुम्बासी समस्यालगायत विषयमा तीव्र गुनासो गरेका छन् ।
कार्यक्रममा सहभागी स्थानीयले निकुञ्ज ऐनका कारण दैनिक जनजीवन प्रभावित भएको, विकास निर्माणका योजना समयमा सम्पन्न नभएको तथा नगरपालिकाको सेवा प्रवाह प्रभावकारी हुन नसकेको बताएका थिए । उनीहरूले मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व नियन्त्रणका लागि दीर्घकालीन समाधान खोज्न समेत माग गरे ।
बघौंडा अस्पतालमा बिरामी र ज्येष्ठ नागरिकले दिनभर पालो कुर्नुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य सेवा सहज बनाउन माग गरिएको थियो । किसानहरूले बिग्रिएको डिप बोरिङ तत्काल मर्मत गर्न, दुग्ध अनुदान विस्तार गर्न तथा खेतीपातीमा सहुलियतको व्यवस्था गर्न आग्रह गरेका छन् ।
त्यसैगरी बजार क्षेत्रमा बढ्दो धुवाँ, चर्को हर्न र अव्यवस्थित फोहोर व्यवस्थापनप्रति स्थानीयले असन्तुष्टि जनाएका थिए । नगरपालिकाको ट्र्याक्टर समयमै उपलब्ध नहुने, योजना कार्यान्वयनमा ढिलाइ हुने, टोल विकास संस्था समायोजनप्रति असन्तुष्टि रहेको विषय पनि कार्यक्रममा उठाइएको थियो ।
सार्वजनिक सुनुवाइमा सुकुम्बासी समस्या समाधानमा बेवास्ता भएको, पर्यटन पूर्वाधार निर्माण अधुरै रहेको तथा नगरपालिकाले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सहभागीहरूले ध्यानाकर्षण गराएका थिए ।
