विश्वव्यापी रुपमा देखिएको इन्धन संकट र मूल्यवृद्धिको प्रभाव बढिरहेका बेला भरतपुर महानगरपालिका वडा नं.१० ले इन्धन खपतमा कटौती गर्न वडाबासीलाई आह्वान गरेको छ ।
कार्यवाहक वडा अध्यक्ष रेशमराज थापाले सूचना जारी गर्दै अति आवश्यक र अनिवार्य कामबाहेक पेट्रोल तथा डिजेलबाट सञ्चालित सवारी साधनको प्रयोग कम गर्न आग्रह गरेका हुन् ।
वडा कार्यालयले इन्धनको अनावश्यक प्रयोग घटाएर आर्थिक व्ययभार कम गर्न, वातावरणीय प्रदूषण नियन्त्रण गर्न तथा संकटको समयमा जिम्मेवार नागरिकको परिचय दिन सबैलाई सचेत गराएको छ ।
सूचनामा छोटो दूरीका लागि साइकल प्रयोग गर्न, पैदल हिँड्ने बानी बसाल्न तथा सम्भव भएसम्म वातावरणमैत्री विद्युतीय सवारी साधन प्रयोग गर्न आग्रह गरिएको छ । साथै कार्यालय तथा संस्थागत काममा सवारी साधन साझेदारी गर्ने अभ्यासलाई समेत प्रोत्साहन गरिएको छ ।
कार्यवाहक वडा अध्यक्ष थापाले इन्धन खपत घटाउन सके देशको ठूलो रकम बाहिरिनबाट जोगाउन सकिने उल्लेख गर्दै सरकारी कर्मचारीदेखि आम नागरिकसम्म सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।
इन्धनको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको बजारभाउमा प्रत्यक्ष असर पारेको र नागरिकको जीवनस्तर प्रभावित बनेको भन्दै वडा कार्यालयले यस विषयलाई गम्भीर रुपमा लिएको जनाएको छ ।
