देवघाट कलेजको भेला शनिबार सम्पन्न भएको छ । कलेज संचालक समितिका अध्यक्ष डा. सुरेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलाको उद्घाटन देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष थापाले स्थानीय स्वायत्त शासन अन्तर्गत शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै सामुदायिक कलेजलाई स्थानीय सरकारले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो ।
कलेज प्रमुख श्यामराज दवाडीले देवघाटमै पहिलो पटक कलेज स्थापना भई सञ्चालनको प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै स्थानीय सरकार, राजनीतिक दल तथा समुदायको सहयोग आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै अध्यक्ष श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी कलेजमा विद्यार्थी भर्ना प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । हाल २५ विद्यार्थी रजिस्ट्रेशन भइसकेको र आगामी शैक्षिक सत्रदेखि शिक्षा र पर्यटन (टुरिज्म) विषय थप गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
उपाध्यक्ष केशवचन्द्र न्यौपानेले कलेज स्थापनालाई क्षेत्रको शैक्षिक विकासका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
भेलामा विभिन्न शिक्षाप्रेमी, समाजसेवी तथा पूर्व जनप्रतिनिधिहरूले पनि मन्तव्य राखेका थिए ।
