मुलुकको पूर्वाधार विकासमा महत्वपूर्ण प्रगति भएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशभर रणनीतिक तथा स्थानीय गरी कुल सडक सञ्जाल ३६ हजार ८०६ किलोमिटर पुगेको छ।
यसमा २० हजार ४५६ किलोमिटर कालोपत्रे, ७ हजार ६०२ किलोमिटर ग्राभेल र ८ हजार ७४८ किलोमिटर कच्ची सडक रहेको उल्लेख छ। अघिल्लो वर्षको तुलनामा सडक विस्तार र स्तरोन्नतिमा निरन्तर वृद्धि भएको देखिएको छ।
सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म ७६ किलोमिटर नयाँ सडक निर्माण, ४१३ किलोमिटर सडक कालोपत्रे स्तरोन्नति तथा १०२ वटा पुल निर्माण सम्पन्न भएका छन्।
त्यस्तै, मध्यपहाडी, हुलाकी, कालीगण्डकी कोरिडोर लगायतका राष्ट्रिय गौरवका आयोजनामा पनि उल्लेखनीय प्रगति भएको छ। नारायणघाट–बुटवल र मुग्लिन–पोखरा सडक खण्डको विस्तार कार्य पनि तीव्र गतिमा अघि बढिरहेको छ।
यद्यपि सडक गुणस्तर, सुरक्षा र दीर्घकालीन दिगोपनामा अझ सुधार आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ।
