चितवन जिल्लालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त जिल्ला घोषणा गरिएको छ। मानव सेवा आश्रमको सहकार्यमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जिल्लालाई औपचारिक रूपमा मानवमुक्त घोषणा गर्दै अभियानको दिगोपनाका लागि सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए।
कार्यक्रममा प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवाला निकायहरूले सडक आश्रित व्यक्तिहरूको उद्धार, संरक्षण र पुनःस्थापनामा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। यस अवसरमा मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति तथा जिल्लाका सातवटै स्थानीय तहबीच सहकार्यसम्बन्धी सम्झौतासमेत गरिएको छ।
मानव सेवा आश्रमका अनुसार चितवनमा हालसम्म १ हजार ११ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरिएको छ भने भरतपुरस्थित आश्रममा १५४ जना आश्रित रहेका छन्। आश्रमले आगामी २०८३ सालभित्र नेपाललाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य लिएको जनाएको छ।
