चितवनको भरतपुर ११ स्थित भोजाडमा दिउँसै स्यालको बिगबिगी र आतंकले स्थानीयबासीहरु त्रसित भएका छन् । केही पशु चौपाया र मानिसहरुलाई समेत स्यालले टोकेर घाइते बनाएको माइती नेपालका कार्यक्रम संयोजक एवं स्याल पीडित ईश्वर गिरीले जानकारी दिनुभयो ।
खेतबारीमा काम गरिरहेको समयमा अचानक स्यालको बथान आएर मानिस र पशुचौपायालाई टोक्ने गरेको गिरीले गुनासो गर्नुभयो । चैत १० गते शनिबार घर बाहिर बसेको समयमा स्यालले आफ्नो श्रीमतीलाई खुट्टामा टोकेर घाइते बनाएको र एक जना बालक स्यालले लखेट्दा भाग्न खोज्दा लडेर हात भाच्चिएको बताउनुभयो । गिरीका अनुसार अहिलेसम्म स्यालको टोकाइबाट ५ जना मानिसहरु घाइते भएको र उनीहरूको भरतपुर अस्पताल र सिएमसी अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । बारम्बार वडा कार्यालय र बन तथा बाताबरण बिभागमा स्याल आतंक बारेमा जानकारी गराउदा समेत खासै चासो नदिएको गिरीको भनाइ छ । स्यालले घरपालुवा जनावर गाई भैंसीलाई टोक्दा तिनीहरुले दिएको दुध सेवन गर्दा रेबिजको जोखिम बढ्ने गरेपछि स्थानीयबासीहरु चिन्तित बनेका हुन् ।
आँफैले जिताएर पठाएका जनप्रतिनिधि र सोही वडाका वडाध्यक्षले समेत चासो नदिएपछि राज्य तवरबाट नै अयोग्य र अनागरिक जस्तो भएको महशुस स्थानीयबासीहरुले गरेका छन् ।