विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने भएको छ ।
माडी नगरपालिकाले चालु आर्थिक वर्षबाट ‘मोज्याक’ लगाउन सुरु गर्न लागेको हो ।
माडी नगरपालिकाका प्रमुख तारा काजीकुमारी महतोका अनुसार कालोपत्र गर्न नमिलेपछि सडकलाई धुलोरहित बनाउन मोज्याक टायल लगाउन लागिएको हो । सडकको भागमध्ये सात मिटरमा मोज्याक टायल लगाउन लागिएको हो ।
यसका लागि वन मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई आवश्यक सहजीकरण गरिदिन पत्राचार गरिसकेको छ । विभागले चितवन राष्ट्रिय निकुञ्जलाई सडकमा मोज्याक टायल लगाउनका लागि आवश्यक सहजीकरण गर्न पत्राचार गरेको छ ।
प्रमुख महतोले चालु आर्थिक वर्षमा नगरपालिकाले मोज्याक टायलका लागि रु पाँच करोड ५० लाख विनियोजन गरेको छ । सो रकमले काम थालनी गर्ने उहाँको भनाइ छ । राजमार्गस्तरको बाटोमा नेपालमा अहिलेसम्म मोज्याक टायल नलगाइएकाले लागत अनुमान गर्न कठिन भएको छ ।
