माडीमा आँखा उपचार सेवातर्फ महत्वपूर्ण प्रगति भएको छ।
भरतपुर आँखा अस्पताल को प्राविधिक सहयोग र माडी आँखा उपचार केन्द्रको आयोजनामा सम्पन्न एकदिने क्लिनिकल तालिमले स्थानीय स्वास्थ्यकर्मीलाई आँखासम्बन्धी रोग पहिचान तथा प्रारम्भिक उपचारमा दक्ष बनाएको छ।
माडी भिलेजमा आयोजित उक्त तालिममा ९ वटा स्वास्थ्य संस्था र आयुर्वेद अस्पतालका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। तालिमपछि अब माडीका स्वास्थ्य चौकीहरूबाटै प्रारम्भिक आँखा जाँच सेवा सुरु हुने भएको छ, जसले स्थानीय बासिन्दालाई सहज पहुँच प्रदान गर्नेछ।
कार्यक्रमअन्तर्गत नेपाल नेत्रज्योति संघ मार्फत आवश्यक उपकरण उपलब्ध गराइएको छ। साथै, स्वास्थ्य संस्थाबाट सिफारिस भई उपचार केन्द्र पुग्ने बिरामीलाई टिकट शुल्क नलाग्ने र शल्यक्रियामा सहुलियत प्रदान गरिने व्यवस्था गरिएको छ।
यस पहलले माडी क्षेत्रमा आँखा उपचार सेवाको पहुँच विस्तार गर्दै स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।