यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा आज (वैशाख १४) देखि देशभर सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयअन्तर्गत नयाँ र पुरानो कोर्सका साथै ग्रेड वृद्धिको परीक्षा लिइँदैछ । वैशाख २७ गतेसम्म सञ्चालन हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षा नलिइने बोर्डले स्पष्ट पारेको छ ।
यस वर्ष नियमिततर्फ तीन लाख ३२ हजार १७८ विद्यार्थी सहभागी हुँदैछन् । जसमध्ये एक लाख ७२ हजार १२ छात्र, एक लाख ६० हजार १३७ छात्रा र अन्य २९ परीक्षार्थी रहेका छन् ।
त्यस्तै आंशिकतर्फ ८५ हजार ८३० परीक्षार्थी सहभागी हुनेछन् । यससँगै कुल चार लाख १८ हजार आठ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
जिल्लागत रूपमा सबैभन्दा कम मनाङमा ३१ जना र सबैभन्दा बढी काठमाडौंबाट ६४ हजार ३३ परीक्षार्थी सहभागी हुने भएका छन् ।