भरतपुर–१० स्थित पुष्पाञ्जली हस्पिटल प्रा.लि. र समुन्नत बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बालमन्दिर रोडबीच स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार सहकारीका सञ्चालक, कर्मचारी, सेयर सदस्य तथा उनीहरूका परिवारले अस्पतालका विभिन्न सेवामा ५ देखि २५ प्रतिशतसम्म छुट सुविधा पाउनेछन्।
सम्झौतामा हस्पिटलका सामाजिक सेवा एकाइ प्रमुख केदारप्रसाद सुवेदी र सहकारीका अध्यक्ष हिरालाल सापकोटाले हस्ताक्षर गरेका छन्।
अस्पतालले सहकारीको आवश्यकताअनुसार स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ भने आवश्यकता अनुसार टेलिमेडिसिन सेवा पनि उपलब्ध गराइने जनाइएको छ।
दुवै पक्षबीच भएको सम्झौता लागू भएको मितिबाट दुई वर्षसम्म कायम रहनेछ। सेवा सुविधाको प्रभावकारिताबारे हरेक ६ महिनामा संयुक्त समीक्षा बैठक बस्ने सहमति गरिएको हो ।
सहकारीका सदस्यहरूलाई सस्तो र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको र यसले अस्पतालको सामाजिक उत्तरदायित्वलाई समेत सुदृढ बनाउने सामाजिक सेवा एकाइ प्रमुख सुवेदीले बताए।
