पोल्याण्डको चिकित्सा क्षेत्रमा उच्च सम्मानको रूपमा हेरिने ‘सर्जन अफ द इयर २०२५’ (The Surgeon of The Year 2025) को उपाधिबाट नेपाली मूलका प्रतिष्ठित चिकित्सक तथा नेपालका लागि वार्सास्थित अवैतानिक वाणिज्य दूत (Honorary Consul of Nepal) डा. बोध राज सुवेदी सम्मानित हुनुभएको छ ।
डा. सुवेदीले यो प्रतिष्ठित उपाधि जितेर पोल्याण्डको स्वास्थ्य सेवामा मात्र नभई कूटनीतिक क्षेत्रमा विशेष योगदान दिनुभएकाे छ । डा. सुवेदी हाल ओत्स्वोक (Otwock) स्थित युरोपेली स्वास्थ्य केन्द्र (Europejskie Centrum Zdrowia) मा कार्यरत हुनुहुन्छ। उहाँले क्लिनिकल अभ्यासका साथसाथै सामाजिक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
डा. सुवेदी उक्त केन्द्रको अंकोलोजी शल्यक्रिया विभागमा कार्यरत हुनुहुन्छ, जहाँ उहाँले दैनिक रूपमा जटिल शल्यक्रिया-अंकोलोजी (chirurgiczno- onkologicznej) हेरचाह आवश्यक पर्ने बिरामीहरूको उपचार गर्दै आउनुभएको छ । त्यस्तै, उहाँ पोलिश-नेपाली फाउन्डेसन (Fundacji Polsko-Nepalskiej) को अध्यक्ष र एक संस्थापक संघ (założycielskim Stowarzyszenia) को नेतृत्व पनि गरिरहनुभएको छ ।
उहाँको यो सम्मानले उहाँको समर्पण, विशेषज्ञता र मानवीय सेवाप्रतिको लगावलाई पुष्टि गरेको छ। डा. सुवेदीलाई यो महत्वपूर्ण उपाधि प्राप्त भएकोमा नेपाल र पोल्याण्ड दुवैतर्फबाट बधाई तथा शुभकामना व्यक्त भइरहेकाे छ ।






