अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच समुद्री तट मा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ ।
यस घटनालाई अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ ।
आइतबार स्थानीय समय अनुसार साँझ ६:४७ बजे बोन्डी बीच नजिकैको पार्कमा गोली चलेको थियो ।
प्रहरीका अनुसार मृतकमध्ये एक जना बन्दुकधारी पनि छन् । अर्को संदिग्ध आक्रमणकारी गम्भीर अवस्थामा रहेको बताइएको छ ।
गोलीकाण्डमा दुई जना प्रहरी अधिकारीसहित दर्जनौँ व्यक्ति घाइते भएका छन् । हाल करिब ४० जना अस्पतालमा उपचाररत छन् ।
गोली चलेको सूचना पाएपछि न्यु साउथ वेल्स प्रहरीले तत्काल अपरेसन सुरु थालेको थियो । न्यु साउथ वेल्स प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बोन्डी बीच क्षेत्रमा ठूलो स्तरको प्रहरी अपरेसन जारी रहेको जनाएको छ । प्रहरीले घटनास्थल वरपर नजान र सबै निर्देशनको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

