चितवन उद्योग वाणिज्य संघको यही पुष १९ र २१ गते सम्पन्न हुन गइरहेको ५९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट संघको नयाँ नेतृत्व चयन हुँदैछ।
उक्त अधिवेशनलाई लक्षित गर्दै सिरीष पन्त समूहले विभिन्न पदमा उम्मेदवारी दिएको औपचारिक घोषणा गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै समूहका प्रतिनिधिहरूले पछिल्ला वर्षहरूमा चितवनका उद्योगी तथा व्यवसायीले भोग्दै आएका राजनीतिक तथा आर्थिक अस्थिरता, नीतिगत झन्झट, बजार व्यवस्थापनको अभाव, कर तथा वित्तीय बोझ, अव्यवस्थित फुटपाथ र पार्किङ, अनियमित मेला–महोत्सव तथा समावेशी प्रतिनिधित्वको कमी जस्ता समस्याले व्यवसाय क्षेत्र गम्भीर संकटमा परेको बताएका छन्।
देशको केन्द्रमा अवस्थित तथा आर्थिक दृष्टिले महत्वपूर्ण चितवन जिल्ला पनि यस्ता समस्याबाट अछुतो नरहेको उल्लेख गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा अग्रणी भए पनि व्यवसायिक वातावरण कमजोर बन्दै गएको उनीहरूको भनाइ छ।
यिनै समस्यालाई समाधान गर्दै व्यवसायीहरूको आवाजलाई संस्थागत रूपमा सशक्त बनाउने र व्यवसायमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले सिरीष पन्त समूहले उम्मेदवारी दिएको जानकारी गराइएको हो।
समूहले आफ्नो उम्मेदवारी व्यक्तिगत पदका लागि नभई व्यवसायीको हकहित संरक्षण, क्षमता विकास, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुधार तथा नयाँ व्यवसायिक अवसरको खोजीका लागि भएको स्पष्ट पारेको छ। संघसँग लामो समयदेखि सक्रिय आबद्धता र व्यवसायिक अनुभवका आधारमा संघलाई व्यवसायीहरूको वास्तविक प्रतिनिधि संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य लिएको समूहले जनाएको छ।
देशको वर्तमान अवस्थाका कारण दक्ष र उर्जावान युवाहरू विदेश पलायन भइरहेको सन्दर्भमा “स्वदेशमै बसौँ, स्वदेशमै व्यवसाय गरौँ” भन्ने सोचसहित उद्योगी–व्यवसायीको हितका लागि काम गर्ने दृढ अठोटका साथ उम्मेदवारी दिएको समूहले बताएको छ।
सिरीष पन्त समूहका प्रमुख प्रतिबद्धता
समूहले सार्वजनिक गरेको कार्ययोजनाअन्तर्गत:
भरतपुर र नारायणगढ बजार क्षेत्रमा पार्किङ तथा फुटपाथ व्यवस्थापन, पुलचोकदेखि पोखरा बसपार्कसम्म मुख्य सडकमा यात्रुबाहक सवारी मात्र सञ्चालनको पहल, पोके, ठेला र हाटबजारको व्यवस्थित व्यवस्थापन, व्यवसाय कर, घरबहाल कर र विज्ञापन करको नीतिगत समाधान, वैज्ञानिक घरभाडा प्रणाली लागू गर्न पहल, होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा सञ्चालनका लागि सहजीकरण, स्थानीय व्यवसायीका लागि लोड–अनलोड व्यवस्थापन, नारायणी नदी किनारका ठेलाहरूको व्यवस्थापन,
मेला–महोत्सवको नियमन तथा न्युनिकरण, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन, संघको वेबसाइट, सूचना प्रणाली तथा सामाजिक सञ्जालको नियमित अद्यावधिक,
सदस्यता र नवीकरणका लागि डिजिटल एप, महिला व्यवसायीको नेतृत्व विकास र समावेशी संरचना, “मेड इन चितवन” अवधारणामार्फत स्थानीय उत्पादनको प्रवर्द्धन, चितवन महोत्सवलाई पारदर्शी, व्यवस्थित र स्थानीयमैत्री बनाउने योजना समावेश छन्।
समूहले प्रस्तुत कार्ययोजनाहरू अझ प्रभावकारी बनाउन व्यवसायी, सरोकारवाला निकाय तथा नागरिक समाजसँग छलफल गरी सुझाव समेट्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाएको छ।

