पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले यसतर्फ आकर्षित भएका हुन् ।
उत्पादित कागतीले बजार नपाएपछि भने किसानमा निराशा छाएको छ । बजारमा भारतीय कागती सस्तोमा किनबेच हुँदा स्थानीय उत्पादनले मूल्य पाउन नसकेको हो ।
जिल्लाको निसीखोला, ढोरपाटन, बडिगाडलगायत स्थानमा उत्पादित कागतीले बजार नपाएपछि कुहिएर खेर जान थालेको किसान बताउँछन् ।
कागतीको चुकसमेत बिक्री नहुँदा लगानी खेर जाने चिन्ता बढेको निसीखोलाका किसान पर्वत घर्तीले बताउनुभयो । गत वर्ष दुई सय किलोभन्दा बढी कागती कुहिएर नष्ट भएको भन्दै यसपाली पनि बिक्री नहुँदा कुहिने डर भएको उहाँको भनाइ छ ।
बजारमा आउने भारतीय कागतीले स्थानीय उत्पादनलाई ओझेलमा पारेको घर्तीले बताउनुभयो । “सडकसँगै सवारीसाधनको सुविधा पुगेपछि कागतीको माग बढ्छ भन्ने लागेको थियो । सोही कारणले व्यावसायिक रूपमा खेती गरियो, दुई/तीन वर्षदेखि प्रशस्त उत्पादन हुँदै आए पनि बजार नपाउँदा कुहिएर खेर जाने गरेको छ”, उहाँले भन्नुभयो ।
किसानद्वारा उत्पादित वस्तुको बजारीकरणमा स्थानीय सरकारले गरेमा समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
“पश्चिम बागलुङको मुख्य बजार बुटवल हो । तर बुटवलमा भारतीय कागतीको दबदबा छ”, किसान चमबहादुर रोकाले भन्नुभयो, “अघिल्लो वर्ष तयार गरेर राखेको करिब एक सय ५० लिटर चुक अहिलेसम्म बिक्री भएको छैन ।” अहिले पनि बोटमा लटरम्मै कागती फलेका भन्दै कसरी बिक्री गर्ने भन्ने चिन्ताले सताएको उहाँले बताउनुभयो ।

