गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने चौथो संस्करणको गैँडाकोट महोत्सव तथा व्यापार मेलाको तयारी ६० प्रतिशत पूरा भएको छ ।
पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिइने आयोजकले जनाएका छन् ।
महोत्सवका मूल संयोजक तथा जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष छवि कँडेलका अनुसार महोत्सवमा स्थानीय उत्पादन अदुवाको जाम मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिनेछ । साथै जिल्लाका किसानले उत्पादन गरेका दूधजन्य पदार्थ, अन्य कृषि उपज र महिला उद्यमीका सामग्री पनि प्रदर्शन तथा बिक्री गरिनेछ ।
महोत्सवको विशेष आकर्षणका रूपमा जलपरी राखिनेछ, जहाँ दर्शकले जलपरीसँग फोटो तथा भिडियो खिच्न सक्नेछन् । त्यस्तै अष्ट्रेलियाको सांस्कृतिक घर ओपेरा हाउसको नमुना डोम समेत निर्माण गरिने तयारी छ ।
सङ्घका अध्यक्ष दीपक सापकोटाले महोत्सवले नवलपुरको आर्थिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने बताए । महोत्सवमा २५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार र दुई लाखभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा पाकिस्तानी लेदर, बङ्गलादेशी गार्मेन्ट, अटोमोबाइल, बैंक तथा वित्तीय संस्था, इलेक्ट्रोनिक्स, हस्तकला, तयारी पोशाकलगायतका विविध स्टल रहनेछन् । साथै राष्ट्रिय भजन प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारबाट दैनिक सांस्कृतिक कार्यक्रम, बाल उद्यान र मनोरञ्जनका कार्यक्रमसमेत आयोजना गरिनेछ ।
सुरक्षाका लागि सिसिटिभी निगरानी, एम्बुलेन्स, प्राथमिक उपचार, मिडिया सेन्टर, पार्किङ तथा स्वच्छता व्यवस्थापनको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

